काठमाडौं, माघ २० । प्रभु बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमन शर्मा नियुक्त भएका छन्। बैंकको मंगलबार बसेको सञ्चालक समिति बैठकले शर्मालाई चार वर्षका लागि सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो।
बैंकिङ क्षेत्रमा करिब २५ वर्षको अनुभव बोकेका शर्मा अनुभवी र कुशल बैंकरका रूपमा परिचित छन्। यसअघि उनी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत थिए। त्यसअघि माछापुच्छ्रे बैंक लिमिटेडको सीईओको जिम्मेवारी समेत सम्हालिसकेका छन्।
बैंकका निवर्तमान सीईओ अशोक शेरचनले आइतबार राजीनामा दिएपछि उक्त राजीनामा स्वीकृत गर्दै शर्मालाई नयाँ सीईओका रूपमा नियुक्त गरिएको बैंकले जनाएको छ। शर्मा ग्लोबल आइएमई बैंक, माछापुच्छ्रे बैंक, एनएमबी बैंकलगायत विभिन्न वाणिज्य बैंकमा काम गरेको व्यापक अनुभव राख्छन्।
शर्माले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र तथा भौतिकशास्त्रमा स्नातकोत्तर उपाधि हासिल गरेका छन्। उनले सन् १९९७ मा नेपाल एसबीआई बैंकबाट बैंकिङ करियर सुरु गरेका थिए।
सात वर्षसम्म नेपाल एसबीआई बैंकमा सेवा गरेपछि उनले सन् २००५ मा नेदरल्याण्डको मास्ट्रिक्ट स्कूल अफ म्यानेजमेन्टबाट एमबीए (फाइनान्स) अध्ययन पूरा गरेका हुन्। शर्मा अर्थशास्त्र र एमबीए ९फाइनान्स० दुवै विषयमा स्वर्ण पदक विजेता समेत हुन्।




