काठमाडौं, माघ २० । निर्वाचन आयोगले मतदानका लागि मतदाता परिचयपत्र नभए पनि तोकिएका सरकारी कागजातमध्ये कुनै एक भए मतदान गर्न सकिने स्पष्ट पारेको छ। आयोगले स्थापना गरेको कल सेन्टरमा प्राप्त जिज्ञासाको जवाफ दिँदै यस्तो व्यवस्था रहेको जनाएको हो।
मतदाता परिचयपत्र नभएमा मतदान गर्न पाइन्छ कि पाइँदैन भन्ने प्रश्नको उत्तरमा आयोगले मतदाता नामावलीमा नाम दर्ता भएको खण्डमा ६ प्रकारका सरकारी कागजातमध्ये कुनै एक सक्कल देखाएर मतदान गर्न सकिने जानकारी दिएको छ।
आयोगका अनुसार मतदान गर्नका लागि सर्वप्रथम मतदाता नामावलीमा नाम दर्ता हुनु अनिवार्य छ। नाम दर्ता भएका मतदाताले सामान्यतया मतदान केन्द्रमा जाँदा मतदाता परिचयपत्र साथमा लैजानुपर्ने व्यवस्था छ।
तर मतदाता परिचयपत्र नभएको, हराएको वा नष्ट भएको अवस्थामा नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, सवारी चालक अनुमतिपत्र वा जग्गाधनी प्रमाणपूर्जा ९लालपूर्जा० मध्ये कुनै एक सक्कल कागजात लिएर गएमा मतदान गर्न पाइने आयोगले जनाएको छ।
आगामी फागुन २१ गते देशका विभिन्न स्थानमा निर्वाचन हुँदैछ। आयोगले मतदातालाई मतदान अधिकार प्रयोग गर्दा आवश्यक कागजात साथमा लैजान अनुरोधसमेत गरेको छ।




