काठमाडौं, माघ २१ । काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१३ चुनीखेल नयाँबस्तीमा गएराति आगलागी हुँदा २४ परिवार विस्थापित भएका छन् । आगलागी भएको स्थानबाट ७ जनाको सकुशल उद्धार गरिएको छ ।
मंगलबार राति करिब पौने ११ बजेदेखि सुरु भएको आगो सवा १ बजेतिर काठमाडौं महानगरपालिका, बुढानीलकण्ठ नगरपालिका र टोखा नगरपालिकाका दमकलको सहयोगमा नियन्त्रणमा ल्याइएको हो ।
वडा अध्यक्ष टिकानारायण श्रेष्ठका अनुसार आगलागीबाट २४ कोठा बराबरको लामो टहरा पूर्ण रूपमा नष्ट भएको छ । उक्त टहरामा विभिन्न जिल्लाबाट आएका २४ परिवार भाडामा बस्दै आएका थिए ।
आगलागीबाट विस्थापित परिवारलाई नजिकैका अन्य टहरामा अस्थायी रूपमा बसोबासको व्यवस्था गरिएको छ । आज खाद्यान्न, लत्ताकपडा लगायतका राहत सामग्री वितरण गर्ने तयारी भइरहेको वडा कार्यालयले जनाएको छ ।
प्रारम्भिक रूपमा विद्युत् सट भएर आगलागी भएको अनुमान गरिएको छ । क्षतिको विस्तृत विवरण भने आउन बाँकी रहेको छ । आज प्रहरीसहित मुचुल्का उठाई क्षतिको यकिन विवरण संकलन गरिने वडा अध्यक्ष श्रेष्ठले जानकारी दिए ।




