काठमाडौँ, माघ २१ । संवाद, सहअस्तित्व र आपसी सम्मानप्रति प्रतिबद्धता व्यक्त गर्दै आज विश्वका विभिन्न मुलुकमा अन्तर्राष्ट्रिय मानव भ्रातृत्व दिवस मनाइँदै छ ।
संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०२० डिसेम्बर २१ मा प्रस्ताव पारित गरी प्रत्येक वर्ष फेब्रुअरी ४ लाई अन्तर्राष्ट्रिय मानव भ्रातृत्व दिवसका रूपमा मनाउने निर्णय गरेको थियो । सोही निर्णयअनुसार सन् २०२१ देखि यो दिवस मनाउन थालिएको हो ।
यस दिवसले संस्कृति, भाषा र विश्वास फरक भए पनि सबै मानिस एउटै मानव परिवारका सदस्य भएको स्मरण गराउँछ । मानव भ्रातृत्वको अवधारणाले शङ्काभन्दा सम्मानलाई प्राथमिकता दिँदै समान गरिमा र अधिकारका आधारमा सहअस्तित्वको अभ्यास गर्न प्रेरित गर्दछ । बढ्दो तनाव र ध्रुवीकरणको वर्तमान अवस्थामा मानव भ्रातृत्व केवल आदर्श मात्र नभई शान्तिपूर्ण सहजीवन र प्रत्येक व्यक्तिको अधिकार तथा गरिमाको संरक्षण गर्ने व्यवहारिक प्रतिबद्धता भएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।
यस वर्षको विषयवस्तुले विभाजनभन्दा संवादलाई प्राथमिकता दिन सबैलाई आह्वान गरेको छ । राष्ट्रसङ्घका अनुसार संवादको अर्थ सबै विषयमा सहमति हुनु होइन, बरु ध्यानपूर्वक सुन्नु, जिम्मेवारीपूर्वक बोल्नु र डर, आक्रोश वा अनिश्चितताको अवस्थामा पनि एकअर्काको मानवता पहिचान गर्नु हो ।
मानव भ्रातृत्वले विभेद, जातीय घृणा, विदेशीप्रति घृणा तथा घृणात्मक अभिव्यक्तिको अस्वीकार गर्न जोड दिएको छ । संयुक्त राष्ट्रसङ्घले ‘अनलाइन’ र ‘अफलाइन’ दुवै माध्यममा भिन्नतामाथि हुने छलफललाई सम्मानजनक र अहिंसात्मक बनाउन आवश्यक रहेको औँल्याएको छ ।
यस अवसरमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले समान अधिकार, दया र आपसी सम्मानमा आधारित विश्व निर्माण गर्दै एक मानव परिवारका रूपमा शान्तिपूर्वक बाँच्न सबैको साझा भूमिका रहने बताएका छन् ।




