ओम प्रकाश यादव
रौतहट, माघ २१ । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सिताराम रिजालसँग पत्रकारहरुको भेटघाट तथा परिचयात्मक कार्यक्रम बुधबार गौरमा सम्पन्न भएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटको सभाहलमा आयोजित उक्त कार्यक्रममा प्रहरी र समुदायबीचको आपसी समन्वय, शान्ति सुरक्षा सुदृढीकरण तथा अपराध नियन्त्रणका विषयमा विस्तृत छलफल गरिएको छ।
कार्यक्रमको अध्यक्षता जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी सिताराम रिजालले गर्नुभएको थियो। कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक (डिएसपी), अन्य प्रहरी अधिकृतहरू, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै एसपी रिजालले जिल्लालाई शान्त, सुरक्षित र अपराधमुक्त बनाउने कार्यमा प्रहरीको सक्रिय भूमिका रहेको उल्लेख गर्नुभयो। उहाँले अपराध नियन्त्रण, लागूऔषध कारोबार नियन्त्रण, ट्राफिक व्यवस्थापन तथा नागरिक सुरक्षालाई प्राथमिकतामा राखेर काम गरिने स्पष्ट पार्नुभयो।
साथै, प्रहरी जनता र पत्रकारबीचको सहकार्य बलियो भएमा शान्ति सुरक्षा अझ प्रभावकारी हुने उहाँको भनाइ थियो।
एसपी रिजालले प्रहरी सेवामा पारदर्शिता, निष्पक्षता र जवाफदेहिता कायम गर्दै कानुनको पालना गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो। जिल्लामा देखिने विभिन्न सुरक्षा चुनौतीलाई सामूहिक प्रयासबाट समाधान गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा सहभागी सञ्चारकर्मी तथा सरोकारवालाहरूले जिल्लाको शान्ति सुरक्षा, अपराध अनुसन्धान, सीमावर्ती क्षेत्रमा देखिने समस्या लगायतका विषयमा जिज्ञासा राखेका थिए। प्रहरी प्रमुख रिजालले उठाइएका प्रश्नहरूको जवाफ दिँदै प्रहरी सदैव समुदाय र सञ्चारकर्मीसँग सहकार्य गर्न तयार रहेको बताउनुभयो।
भेटघाट तथा परिचयात्मक कार्यक्रमले प्रहरी र समुदायबीचको सम्बन्ध अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ।




