सप्तरी, माघ २२ । नेपालमा दैनिक ४ जना महिलाको मृत्यु पाठेघरको मुखको क्यान्सरबाट हुने गरेको तथ्याँक सार्वजनिक गरिएको छ ।
उक्त रोग विरुद्ध माघ २५ गते देखी जिल्लामा संचालन हुने खोप अभियानबारे सरोकारवाला तथा सञ्चारकर्मीहरुलाई जानकारी दिने उदेश्यले विहीवार यहाँ आयोजित एक कार्यक्रममा यस्तो तथ्याँक सार्वजनिक गरिएको हो ।
जिल्ला स्वास्थय कार्यालय सप्तरीद्वारा आयोजित उक्त कार्यक्रममा प्रस्तुत तथ्याँकमा नेपालमा क्यान्सरका कारण मृत्यु हुने अधिकाँश पाठेघरको मुख क्यान्सरबाट पीडित महिला रहेका छन ।
कार्यक्रममा स्वास्थ्य कार्यालयका प्रमुख सतिश कुमार यादवले सरकारले राष्ट्रिय खोप कार्यक्रम मार्फत उक्त रोग नियन्त्रणको प्रयास थालेको बताए । यसका लागी सप्तरीमा २०८२ माघ २५ देखी फागुन १० गते सम्म २ चरणमा पाठेघर मुखको क्यान्सर रोग विरुद्धको एचपीभी खोप अभियान संचालन हुन लागेको उनले जानकारी दिए ।
जिल्लामा विद्यालय, स्वास्थ्य संस्था तथा बाह्य गरी ५ सय ८० खोप केन्द्रबाट ९ हजार ७ सय ८९ जना किशोरीलाई खोप प्रदान गर्ने लक्ष्य राखिएको उनको भनाई छ ।
विश्व स्वास्थ्य संगठनका प्रतिनीधी सरला न्यौपानेले उक्त खोप अभियान बिद्यालय नजाने १० वर्षको किशोरी तथा विद्यालयमा कक्षा ६ मा अध्ययनरत सबै किशोरीलाई प्रदान गरिने जानकारी दिइन ।
गत आर्थिक वर्षको अभियानमा छुट भएका कक्षा ७ देखी १० कक्षामा अध्यनरत छात्रा तथा विद्यालय नजाने ११ वर्ष देखी १४ वर्षका किशोरीलाई समेत उक्त खोप प्रदान गरिने उनले बताइन ।
जिल्ला खोप समन्वय समितीका अध्यक्ष समेत रहेका जिल्ला समन्वय समितीका प्रमुख शिव नारायण साहको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलको प्रमुख अतिथ्यमा आयोजित कार्यक्रममा गजेन्द्र नारायण सिह अस्पतालका प्रमुख डा.अवधेश मिश्रा, पत्रकार महासंघ सप्तरीका सभापती श्रवण कुमार देव, पब्लिक हेल्थ नर्स अम्बिका ओली, जिल्ला समन्वय अधिकारी कुन्दन कर्ण लगायतले पाठेघर मुख क्यान्सर रोग न्यूनिकरणका लागी थालिएको खोप अभियान सफल बनाउन आ–आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।






