काठमाडौं, माघ २२ । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) सूचक बिहीबार दोहोरो अंकले बढेको छ। साताको सुरुदेखि अस्थिर बनेको बजार बिहीबार सुधार देखाउँदै २७.१९ अंकले बढेर २७०८.७० बिन्दुमा पुगेर बन्द भएको हो।
बुधबारसम्म करिब ३२ अंकले घटेको नेप्से सूचक बिहीबार भने कारोबार सुरु भएदेखि नै निरन्तर उकालो लागेको थियो। नेप्सेसँगै सेन्सिटिभ इन्डेक्स पनि ४.४७ अंकले वृद्धि भएको छ।
बिहीबार नेप्सेमा सूचीकृत ३२६ कम्पनीका १ लाख ८ हजार ८ सय १७ पटक कारोबारबाट ११ अर्ब ५८ करोड रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको छ। यस दिन कुल ३ करोड ५५ लाख ७४ हजार ६ सय २७ कित्ता सेयर कारोबार भएको नेप्सेले जनाएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकममा उल्लेख्य वृद्धि देखिएको हो।
यस दिन कारोबार भएका सेयरमध्ये कालिञ्चोक दर्शन लिमिटेड, सुपर मादी हाइड्रोपावर र मोदी इनर्जीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। कुल कारोबारमध्ये २०१ कम्पनीको सेयर मूल्य बढेको, ५५ कम्पनीको घटेको र ४ कम्पनीको स्थिर रहेको छ।

समूहगत सूचकतर्फ अधिकांश समूह हरियो देखिएका छन्। बैंकिङ, विकास बैंक, वित्त, होटल, जलविद्युत्, जीवन बीमा, निर्जीवन बीमा, उत्पादन तथा लघुवित्त समूह उल्लेख्य रूपमा बढेका छन्। तर, व्यापार समूह भने १८.५१ अंकले घटेको छ।
बजारमा आएको यो सुधारले लगानीकर्तामा आशा जगाएको देखिन्छ। विश्लेषकहरूका अनुसार आगामी दिनमा बजारको दिशा आर्थिक तथा नीतिगत संकेतमा निर्भर रहनेछ।







