सप्तरी, माघ २४ । सप्तरीको रुपनी गाउँपालिका–६ स्थित दुधैला खोलामा शंकास्पद वस्तु विस्फोट हुँदा चार जना बालक घाइते भएका छन्। बनभोजका लागि पुगेका बालकहरूले खोलामा भेटिएको सकेट बमजस्तो देखिने वस्तु दाउरासँगै जम्मा गरेर चुल्हो नजिक राखेका बेला अचानक विस्फोट भएको प्रहरीले जनाएको छ।
विस्फोटमा परी स्थानीय साजन आले मगरका ११ वर्षीय छोरा साहस, मनोज थापा मगरका ९ वर्षीय छोरा प्रशिस, कर्णबहादुर थापा मगरका १६ वर्षीय छोरा कविर र पदमबहादुर विकका १३ वर्षीय छोरा सुरज घाइते भएका हुन्। छर्रा लागेर उनीहरूलाई शरीरका विभिन्न भागमा चोट लागेको बताइएको छ।
घाइते चारै जनालाई प्रारम्भिक उपचारका लागि मधेश प्रदेश प्रहरी अस्पताल, रुपनी लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि छिन्नमस्ता अस्पताल, राजविराज रेफर गरिएको प्रहरीले जनाएको छ। घाइतेमध्ये साहस र प्रशिसको खुट्टा तथा शरीरका अन्य भागमा, कविर र सुरजको पनि शरीरका विभिन्न स्थानमा छर्रा लागेको चिकित्सकले बताएका छन्।
स्थानीय बासिन्दाले विस्फोट भएको स्थान नेपाली सेनाको अभ्यास स्थल रहेको बताउँदै अभ्यासका क्रममा छुटेको वा निष्क्रिय हुन नसकेको विस्फोटक पदार्थ हुन सक्ने आशंका गरेका छन्। यद्यपि यसको आधिकारिक पुष्टि भने भइसकेको छैन।
घटनास्थलमा फेला परेको शंकास्पद वस्तु र विस्फोटबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी डम्बरबहादुर पुरीले जानकारी दिएका छन्। प्रहरीले स्थानीयलाई शंकास्पद वस्तु भेटिएमा नछुने र तत्काल सुरक्षाकर्मीलाई खबर गर्न अनुरोध गरेको छ।




