एजेन्सी, माघ २४ । भारतीय राज्य बिहारका सांसद पप्पु यादवलाई शुक्रबार राति उनी बस्ने निवासबाटै प्रहरीले पक्राउ गरेको छ।
बीबीसीको रिपोर्टअनुसार, पूर्णियाबाट स्वतन्त्र रूपमा निर्वाचित सांसद यादवमाथि १९९५ मा दर्ता भएको मुद्दा सम्बन्धी कारबाहीका लागि पटनाले उनलाई पक्राउ गरेको हो। पटनाका एसपी सिटी भानु प्रताप सिंहले जानकारी दिँदै भने, “यो सन् १९९५ को मुद्दा हो। भारतीय दण्ड संहिताको धारा ४१९ ९झुटो पहिचान देखाएर ठगी०, ४२० ९ठगी र बेइमानीपूर्वक सम्पत्ति हस्तान्तरण गर्न प्रेरित गर्ने०, ४६८ ९ठगीको उद्देश्यले जाली कागजात बनाउने०, ४४८ ९घरमा घुसपैठ०, ५०६ ९आपराधिक धम्की० र १२०बी ९आपराधिक षड्यन्त्र० अन्तर्गत उनलाई पक्राउ गरिएको हो।”
एसपी सिंहका अनुसार, यो मुद्दा गरदानीबाग प्रहरी चौकीमा दर्ता भएको र अदालतमा मुद्दा चलिरहेको छ। सांसद यादवले निर्धारित मितिमा अदालतमा उपस्थित हुनुपर्ने भए पनि उनी अनुपस्थित भएका कारण पक्राउ गरिएको हो।
सुरुमा सांसद यादवले रातको समयमा प्रहरीसँग जान अस्वीकार गरे पनि अन्ततः प्रहरीले उनलाई अबेर राति गिरफ्तार गरेको थियो।

केही दिनअघि पटनाको विशेष अदालतले लगभग ३१ वर्ष पुरानो मुद्दामा पप्पु यादवसहित तीन अभियुक्तको सम्पत्ति जफत गर्न आदेश दिएको थियो। मुद्दा दायर गर्ने व्यक्ति विनोद बिहारी लालले आफ्नो घर जालसाजीपूर्वक भाडामा लिइएको आरोप लगाउँदै सांसद यादव र अन्य अभियुक्तविरुद्ध गरदानीबाग प्रहरी चौकीमा जाहेरी दिएका थिए।
अधिकारिहरूले बताएका अनुसार, उक्त घर पप्पु यादवको कार्यालय सञ्चालनका लागि प्रयोग भइरहेको थियो। यस घटनाले बिहारको राजनीतिक परिस्थितिमा चासो र ध्यान आकर्षित गरेको छ।







