सप्तरी, माघ २४ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आसन्न प्रतिनिधिसभा निर्वाचनमा जनताको मतको असली हकदार जसपा नेपाल नै भएको दाबी गरेका छन्। मधेश जनविद्रोहको ऐतिहासिक पृष्ठभूमि, निरन्तर संघर्ष र सीमान्तकृत समुदाय केन्द्रित एजेन्डाका आधारमा मधेशमा जसपा नेपालप्रति जनताको विश्वास कायम रहेको उनले बताए।
चुनावी छलफल तथा भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष यादवले अधिकार प्राप्तिका लागि आफ्नो पार्टीले कठोर संघर्ष गरेको स्मरण गरे। उनले भने, “अधिकार र अवसर दिलाउने पार्टी जसपा नेपाल हो, बाँकी अधिकार सुनिश्चित गर्न पनि जनताको मत हामीलाई आवश्यक छ।”
मधेश आन्दोलनकै कारण मधेशी, महिला, दलित, आदिवासी जनजाति, थारु र मुस्लिम समुदायको आरक्षण तथा प्रतिनिधित्व स्थापित भएको उल्लेख गर्दै उनले अबको संघर्ष विकास र बाँकी अधिकार प्राप्तितर्फ केन्द्रित हुने बताए।
सप्तरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका यादवले जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण र बजेट विनियोजन हुनुपर्ने आवश्यकता औंल्याए। मधेशमा अझै अशिक्षा र गरिबी गम्भीर समस्याका रूपमा रहेको भन्दै उनले संघीय संरचनामा प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्ने धारणा राखे।
विगतको अवस्थालाई स्मरण गर्दै उनले सरकारी निकाय र सुरक्षा अंगहरूमा मधेशी समुदायको उपस्थिति बढ्नु मधेश विद्रोहकै उपलब्धि भएको जिकिर गरे।




