काठमाडौं, माघ २४। नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकार सुनिल थापाको निधन भएको छ। आज बिहान उपचारका क्रममा उनको निधन भएको जानकारी अस्पताल स्रोतले दिएको छ। अचानक स्वास्थ्यमा समस्या देखिएपछि उनलाई तत्काल थापाथलीस्थित नर्भिक अस्पताल लगिएको थियो।
परिवारजनका अनुसार बिहानैदेखि उनको स्वास्थ्य अवस्था बिग्रिएको थियो। चिकित्सकहरूको टोलीले उपचार थाले पनि प्रयास सफल हुन नसकेको बताइएको छ। यद्यपि उनका आफन्त अस्पतालमा पुग्न बाँकी रहेकाले अस्पताल प्रशासनले औपचारिक रूपमा निधनको घोषणा भने गरिसकेको छैन। आफन्त आएपछि मात्र औपचारिक जानकारी सार्वजनिक गर्ने तयारी रहेको स्रोतको भनाइ छ।
सुनिल थापा नेपाली फिल्म उद्योगमा लामो समयदेखि सक्रिय थिए। उनले विभिन्न चलचित्रमा अभिनय गर्दै दर्शकमाझ अलग पहिचान बनाएका थिए। विशेषगरी खलनायक र चरित्र अभिनेताका रूपमा उनको भूमिका निकै चर्चित रहँदै आएको थियो। उनको अभिनय शैली, संवाद प्रस्तुति र पर्दामा देखिने व्यक्तित्वले नेपाली सिनेमालाई महत्वपूर्ण योगदान पुर्याएको मानिन्छ।
उनको निधनको खबर सार्वजनिक भएसँगै फिल्मकर्मी तथा शुभेच्छुकहरू स्तब्ध बनेका छन्। सामाजिक सञ्जालमा धेरैले श्रद्धाञ्जली व्यक्त गर्दै नेपाली कला क्षेत्रमा अपूरणीय क्षति भएको बताएका छन्। सहकर्मी कलाकारहरूले उनलाई मेहनती, अनुशासित र सहयोगी स्वभावका व्यक्तिका रूपमा सम्झिरहेका छन्।
थापाको पार्थिव शरीर, अन्तिम श्रद्धाञ्जली र अन्त्येष्टि सम्बन्धी कार्यक्रमबारे परिवारले औपचारिक निर्णय गरेपछि थप विवरण आउने अपेक्षा गरिएको छ। नेपाली चलचित्र क्षेत्रमा उनले पुर्याएको योगदान सधैं स्मरणीय रहनेछ।






