ओम प्रकाश यादव
रौतहट, माघ २४ । रौतहट क्षेत्र नं. १ अन्तर्गत माधवनारायण नगरपालिका–६ माधोपुर स्थित माधोपुरदेखि रजबडासम्मको सडक निर्माण योजना शिलान्यास मै सीमित बनेको छ।
पूर्वप्रधानमन्त्री तथा तत्कालीन सांसद माधव कुमार नेपालले २०७९ सालमा भव्य तामझामका साथ शिलान्यास गरेको तीन वर्ष बितिसक्दा पनि सडक निर्माण कार्य सुरु हुन सकेको छैन।
२०७९ को संघीय निर्वाचनअघि माधव कुमार नेपालले माधोपुर–रजबडा सडकसहित विभिन्न सडक निर्माणको आश्वासन दिँदै शिलान्यास गरेका थिए। सड़क शिलान्यास गरी उक्त निर्वाचनमा उनी विजयी समेत भए। तर, शिलान्यास गरिएको उक्त सडक आजसम्म निर्माण नहुँदा स्थानीयवासी निराश बनेका छन्।
तीन वर्षअघि पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले माधोपुर–रजबडा सडक निर्माणको शिलान्यास गर्दै जनतासँग भोट मागे र चुनाव जिते। तर, शिलान्यास गरिएको उक्त सडक आजसम्म निर्माण हुन सकेको छैन।
आफूले शिलान्यास गरेको सडक नबनाई पुनः माधव कुमार नेपाल यही क्षेत्रबाट प्रतिनिधि सभा सदस्यका रूपमा उम्मेदवार बनेका छन्। यसले स्थानीय जनताबीच गम्भीर प्रश्न उठाएको छ।
“बाटो बनाउने वाचा गरेर भोट लिने, जितेपछि तीन वर्षसम्म काम नगर्ने र फेरि त्यही वाचा दोहोर्याएर चुनाव लड्ने—अब कुन नैतिकताको आधारमा फेरि भोट मागिएको होरु” भन्ने प्रश्न आम जनताले उठाइरहेका छन्।
स्थानीयवासीका अनुसार अब शिलान्यास र भाषण होइन, काम देखिने खालको विकास चाहिएको छ। अधुरा योजना र चुनावी नाराले जनता दिक्क भइसकेका छन्।
स्थानीयवासीका अनुसार, सडक शिलान्यासका बेला विकासका ठूला–ठूला सपना देखाइए पनि न त बजेटको सुनिश्चितता भयो, न त निर्माण कम्पनी खटाइयो। अहिले उक्त सडक वर्षायाममा हिलाम्मे र जोखिमपूर्ण बन्छ भने हिउँदमा धुलो र खाल्डाखुल्डीले आवतजावत गर्नै मुस्किल हुने गरेको छ।
स्थानीय बासिन्दाहरू भन्छन्, “चुनाव आउँदा विकासको नाममा शिलान्यास गरिन्छ, फोटो खिचिन्छ, भाषण हुन्छ। तर चुनाव सकिएपछि योजना अलपत्र पारिन्छ।” उनीहरूका अनुसार सडक, पुल, खानेपानी जस्ता आधारभूत पूर्वाधारसमेत चुनावी नारामा मात्रै सीमित हुने प्रवृत्ति पुरानै समस्या बनेको छ।
तीन वर्ष बितिसक्दा पनि माधोपुर, रजबडा सडक निर्माण अघि नबढ्नुले नेतृत्वको प्रतिबद्धता र विकासप्रतिको गम्भीरतामाथि प्रश्न उठाएको स्थानीयको भनाइ छ। अझ आश्चर्यजनक कुरा के छ भने, आफूले शिलान्यास गरेको सडक निर्माण नगरी पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल पुनः यही क्षेत्रबाट चुनावी मैदानमा उत्रिएका छन्।
स्थानीय नागरिकहरू अब शिलान्यास र भाषण होइन, काम देखिने खालको विकास चाहिएको स्पष्ट सन्देश दिइरहेका छन्। उनीहरूले सम्बन्धित निकाय र राजनीतिक नेतृत्वसँग तत्काल सडक निर्माण कार्य सुरु गर्न माग गर्दै, चुनावी नाराभन्दा स्थायी र प्रभावकारी विकासको आवश्यकता रहेको जोड दिएका छन्।तीन वर्षअघि माधवले सडक शिलान्यास गरे, चुनाव पनी जिते तर बाटो बनेन, फेरि चुनावी मैदानमा ।




