जनकपुरधाम, माघ २५ । परिवर्तन र सुशासनको मुख्य एजेण्डा बोकेर चुनावी मैदानमा उत्रिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निर्वाचन आचारसंहिता उल्लंघनका घटनामा भने अन्य दलभन्दा अगाडि देखिएको छ।
निर्वाचन प्रचारको औपचारिक समयावधि सुरु हुनु अगावै धनुषा निर्वाचन क्षेत्र नम्बर ३ का रास्वपा उम्मेदवार मनिष झाले विभिन्न स्थानका बिजुलीका पोल तथा सार्वजनिक संरचनामा आफ्ना प्रचार सामग्री झुण्ड्याएको पाइएको हो। स्थानीयले सामाजिक सञ्जालमार्फत तस्बिर सार्वजनिक गरेपछि विषय थप चर्चामा आएको थियो।
निर्वाचन आयोगले तोकेको आचारसंहिताअनुसार तोकिएको समयभन्दा अघि प्रचार सामग्री राख्न पाइँदैन। सार्वजनिक सम्पत्तिमा अनुमति विना ब्यानर, पोस्टर वा झण्डा टाँस्नु पनि नियमविपरीत मानिन्छ। तर रास्वपा उम्मेदवारबाटै यस्तो कार्य भएको भन्दै अन्य दलहरूले समेत आपत्ति जनाएका छन्।
घटना सार्वजनिक भएपछि जिल्ला प्रशासन कार्यालय धनुषा र सुरक्षानिकायले चासो देखाएको छ। धनुषा प्रहरीले शनिबार विभिन्न स्थानमा राखिएका प्रचार सामग्री हटाएको जनाएको छ। प्रशासनले आचारसंहिता पालना गर्न सबै दल र उम्मेदवारलाई आग्रह समेत गरेको छ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन आयोगले कडाइ गर्ने बताउँदै आएको छ। पटक–पटक सचेत गराउँदा पनि उल्लंघनका घटना दोहोरिनु दुःखद भएको सरोकारवालाहरू बताउँछन्।
स्थानीय नागरिकहरूले भने नियम सबैका लागि बराबर लागू हुनुपर्नेमा जोड दिएका छन्। आचारसंहिता उल्लंघन गर्ने जो–कोहीलाई कारबाही हुनुपर्ने उनीहरूको माग छ।




