एजेन्सी, माघ २५ । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत नेपालले आफ्नो पहिलो खेलमा आइतबार शक्तिशाली टोली इंग्ल्यान्डको सामना गर्दैछ। वाङ्खडे स्टेडियममा हुने यो खेल नेपाली टिमका लागि ऐतिहासिक अवसरका रूपमा हेरिएको छ।
प्रतियोगिताको सुरुवाती दिनमै एसोसियट राष्ट्रहरूले टेस्ट टोलीलाई कडा चुनौती दिएका उदाहरणबीच नेपाल पनि ‘सरप्राइज’ नतिजाको खोजीमा मैदान उत्रने तयारीमा छ। आईसीसी वरियतामा तेस्रो स्थानमा रहेको इंग्ल्यान्ड बलियो प्रतिद्वन्द्वी भए पनि नेपाली टोली आत्मविश्वासका साथ खेल्ने मुडमा देखिन्छ।
कप्तान रोहित पौडेलले खेल कठिन हुने स्वीकार्दै आफ्नो टोलीले उत्कृष्ट प्रदर्शन गर्ने बताउनुभएको छ। सुपर ८ मा पुग्ने लक्ष्य राखेको नेपालका लागि समूह चरणमा कम्तीमा दुई जित आवश्यक छ। पहिलो खेलमै सकारात्मक नतिजा आए आगामी यात्राका लागि मनोबल उच्च हुनेछ।
नेपाल र इंग्ल्यान्डबीच टी–२० अन्तर्राष्ट्रियमा यो पहिलो भेट हो। इंग्ल्यान्ड श्रीलंकासँगको शृंखला जितेर आएको छ भने नेपालले वार्मअप खेलहरूमा राम्रो प्रदर्शन गरेको थियो।
ओपनिङमा कुशल भुर्तेल र आसिफ शेख लगभग पक्का मानिएका छन्। त्यसपछि रोहित, दीपेन्द्रसिंह ऐरी र आरिफ शेख रहने सम्भावना छ। पेस अनुकूल पिच भएकाले करण केसी, सोमपाल कामी र नन्दन यादवलाई उतार्ने अनुमान गरिएको छ। स्पिन विभाग सन्दीप लामिछानेले सम्हाल्नेछन्।
इंग्ल्यान्डतर्फ फिल साल्ट, जस बट्लर र कप्तान ह्यारी ब्रूक प्रमुख खेलाडीका रूपमा रहनेछन् भने बलिङमा जोफ्रा आर्चर र आदिल राशिद खतरनाक मानिन्छन्।
नेपाल १२ वर्षपछि विश्वकपमा पहिलो जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रँदैछ।






