सप्तरी, माघ २५ । फिल्टर र हेल्मेटमा लुकाई राखी ल्याउँदै गरेका स्रोत नखुलेको रकम सहित एकजना पक्राउ परेका छन् । सप्तरीको बलानबिहुल गाउँपालिकाबाट आइतबार स्रोत नखुलेको १३ लाख रकम सहित प्रहरीले एकजनालाई पक्राउ गरेको हो ।
गाउँपालिकाको वडा नम्बर ४ स्थित बेल्ही–चन्ही सडक खण्डमा आइतबार विहान ११ बजेतिर चेकजाँचको क्रममा उक्त रकम सहित सिरहाको भगवानपुर गाउँपालिका वडा नम्बर ४ घर भएका २३ बर्षीय हरिशंकर कुमार साह पक्राउ परेको प्रहरीले जनाएको छ । बलानबिहुल स्थित बेल्ही देखि चन्ही तर्फ गईरहेको प्र०२–०१–००२प४४८१ नम्बरको मोटरसाईकलमा फिल्टर बक्स र हेलमेटमा लुकाई छिपाई ल्याउँदै गरेको १३ लाख रुपैयाँ सहित साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिए ।
उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुरीले जानकारी दिए ।
भारतीय सिमा संग जोडिएको सो पालिकामा केही व्यक्तिद्वारा हुण्डी तथा लागुऔषध कारोबार भईरहेको सुचना प्राप्त भएपछि प्रहरीले चेकजाँचमा कडाई तथा निगरानी बढाएको छ ।




