एजेन्सी, माघ २६ । जापानको प्रधानमन्त्री निर्वाचनमा सानाए ताकाइची नेतृत्वको लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) ले स्पष्ट बहुमतसहित विजय हासिल गरेको छ।
आइतबार सम्पन्न निर्वाचनमा सरकारी प्रसारक एनएचकेले सार्वजनिक गरेको नतिजाअनुसार ४६५ सदस्यीय शक्तिशाली तल्लो सदनमा एलडीपीले ३१६ सिट जितेको छ। साधारण बहुमतका लागि आवश्यक २३३ सिटभन्दा यो ८३ सिट बढी हो।
स्पष्ट जितपछि पत्रकारहरूसँग कुरा गर्दै ताकाइचीले जिम्मेवार र सक्रिय वित्तीय नीतिमा जोड दिने बताइन्। उनले वित्तीय दिगोपनलाई प्राथमिकता दिँदै आवश्यक लगानी सुनिश्चित गरिने धारणा राखिन्।
मार्गरेट थ्याचरप्रति प्रशंसा व्यक्त गर्ने भएकाले ‘आइरन लेडी’ उपनाम पाएकी ताकाइची एलडीपीको दक्षिणपन्थी धारकी नेतृ मानिन्छिन्। उनी लैङ्गिक समानता र आप्रवासन नीतिबारे रूढिवादी अडानका कारण चर्चित छिन्।
पूर्व प्रधानमन्त्री शिन्जो आबेकी निकट सहयोगी रहेकी ६४ वर्षीया ताकाइचीले यसअघि विभिन्न मन्त्री पद सम्हालिसकेकी छन्। उनी पछिल्ला पाँच वर्षमा जापानको चौथी प्रधानमन्त्री बनेकी हुन्।
राजनीतिमा आउनुअघि उनले टेलिभिजन प्रस्तोताका रूपमा काम गरेकी थिइन्। संगीतप्रेमी ताकाइची हेभी मेटलसँग पनि जोडिएकी व्यक्तित्वका रूपमा चिनिन्छिन्।
निर्वाचनअघि एलडीपीले बढ्दो महँगीबाट घरपरिवारलाई राहत दिन खाद्यान्नमा लाग्ने ८ प्रतिशत बिक्री कर निलम्बन गर्ने प्रतिबद्धता जनाएको थियो। तर उच्च सार्वजनिक ऋण बोकेको देशले यस्तो कार्यक्रम कसरी वित्तपोषण गर्छ भन्ने प्रश्न उठिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत ताकाइचीलाई बधाई दिँदै ‘पूर्ण समर्थन’ रहने बताएका छन्। ताकाइचीले पनि समर्थनका लागि ट्रम्पप्रति धन्यवाद व्यक्त गरेकी छन्। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले समेत उनको जितलाई ठूलो उपलब्धि भनेका छन्।
तर विश्लेषकहरूका अनुसार यो परिणामले चीनसँगको सम्बन्धमा थप संवेदनशीलता ल्याउन सक्छ। ताकाइचीले ताइवानमाथि चीनले आक्रमण गरे जापानको सम्भावित प्रतिक्रियाबारे सार्वजनिक रूपमा धारणा राखेपछि यसअघि नै कूटनीतिक तनाव बढेको थियो।
होसेई विश्वविद्यालयका प्राध्यापक क्रेग मार्कका अनुसार तल्लो सदनमा प्राप्त बहुमतले ताकाइची नेतृत्वलाई विपक्षीको ठूलो अवरोधबिना नीति तथा कानुन अघि बढाउने बल दिएको छ। रक्षा खर्चदेखि बजेटसम्मका विषय सहजै पारित गर्न सकिने उनको भनाइ छ।
जापानको प्रमुख व्यावसायिक महासंघ केइदानरेनका प्रमुखले भने निर्वाचन परिणामले देशमा राजनीतिक स्थिरता फर्किएको प्रतिक्रिया दिएका छन्।






