सप्तरी मंसिर ९ । सप्तरीको रुपनी गाउँपालिकामा जंगली हात्तीको आक्रमणबाट एक जनाको ज्यान गएको छ। मृत्यु हुनेमा रुपनी गाउँपालिका–६ वीरेन्द्र बजार निवासी ५३ वर्षीय सुवबहादुर श्रेष्ठ रहेका छन्।
बस्तीमा हात्ती प्रवेश गरेको थाहा पाएपछि घरनजिकै आगो बालेर बसिरहेका श्रेष्ठमाथि बुधबार राति करिब १ बजे हात्तीले आक्रमण गरेको थियो। आक्रमणबाट उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता हेमराज घिमिरेले जानकारी दिएका छन्।
घटनाका बेला श्रेष्ठका छोरा अर्जुन पनि सँगै रहेका थिए। उनी भने भागेर ज्यान जोगाउन सफल भएका छन्। पछिल्लो एक सातादेखि हात्तीको ठूलो बथान रुपनी क्षेत्रमा प्रवेश गरेपछि स्थानीय बासिन्दा त्रासमा छन्। हात्तीको निरन्तर आवागमनले स्थानीयको जनजीवनसमेत प्रभावित बनेको छ।
यसअघि गत कात्तिक २९ गते पनि सप्तरीकै शम्भुनाथ नगरपालिका–४ मा हात्तीको आक्रमणबाट ७० वर्षीय गोपी चौधरीको मृत्यु भएको थियो। जिल्लामा हात्तीको आक्रमणबाट मानवीय क्षति बढ्दै गएपछि स्थानीयमा थप चिन्ता बढेको छ।



