काभ्रे, माघ २७। रामेछापस्थित तामाकोशी नदीमा बस खस्दा ज्यान गुमाउनेको संख्या ९ पुगेको छ। रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार दुर्घटनास्थलमा थप तीन शव फेला परेपछि मृतकको संख्या ९ पुगेको हो।
सीडीओ थापाले उपचारका क्रममा ६ जनाको मृत्यु भएको र तीन जनाको शव घटनास्थलमै भेटिएको जानकारी दिए। दुर्घटनामा घाइते भएकाहरूलाई उद्धार गरी उपचारका लागि मन्थली र खुर्कोट पठाइएको छ।
काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकलीका लागि छुटेको प्रदेश ०३–०१–९९५ ख ९९७५ नम्बरको बस आज बिहान मचानेटार क्षेत्रमा सडकबाट तामाकोशी नदीमा खसेको प्रहरीले जनाएको छ।
अरनिको यातायात समितिका अनुसार जडीबुटीबाट पाँच जना र चाबहिलबाट तीन जनाले टिकट लिएका थिए। बाटोमा अन्य यात्रु चढे–नचढेको विषय भने खुल्न बाँकी रहेको छ।
सशस्त्र प्रहरीको गोताखोर टोलीले नदीमा डुबेको बस आसपास अझै खोजी कार्य जारी राखेको प्रशासनले जनाएको छ।




