डोटी, माघ २७ । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै बझाङको साइपाल गाउँपालिकाका युवाहरूले ६ दिनसम्म सार्वजनिक बिदा घोषणा गर्न माग गरेका छन्। मतदाताको सहभागिता बढाउन फागुन १८ देखि २३ गतेसम्म बिदा आवश्यक रहेको उनीहरूको भनाइ छ।
युवाहरूले इमेलमार्फत प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापनपत्र पठाउँदै निर्वाचनलाई सहज, व्यापक र सहभागितामूलक बनाउन राज्यले आवश्यक निर्णय लिनुपर्ने उल्लेख गरेका छन्।
ज्ञापनपत्रमा भनिएको छ, “प्रतिनिधिसभाको निर्वाचन केवल प्रशासनिक कार्यमात्र होइन, यो राष्ट्रको भविष्य कोर्ने तथा लोकतन्त्रको आत्मालाई सशक्त बनाउने राष्ट्रिय पर्व हो। यस दिन नागरिकको आवाज मतपत्रमार्फत व्यक्त हुन्छ, त्यसैले व्यापक सहभागिता सुनिश्चित गर्नु राज्यको दायित्व हो।”
फागुन १८ गते पहाडी क्षेत्रमा र १९ गते तराई क्षेत्रमा होली परेकाले ती दिन देशैभर बिदा दिनुपर्ने माग गरिएको छ। त्यसैगरी २० गते निर्वाचनको अघिल्लो दिन भएकाले बिदा आवश्यक रहेको, २१ गते निर्वाचनकै कारण सार्वजनिक बिदा हुने, २२ गते शुक्रबार परेकाले मतदाता आफ्नो गन्तव्यमा फर्कन समय दिनुपर्ने र २३ गते शनिबार भएकाले निरन्तरता दिनुपर्ने युवाहरूको धारणा छ।
साइपालका युवा साजन बोहराका अनुसार अन्य दिनहरू सार्वजनिक बिदा परेकाले फागुन २० र २२ गते सरकारले विशेष निर्णय गरी बिदा थप गर्नुपर्छ। यसो भएमा रोजगारी वा अध्ययनका कारण घरबाहिर रहेका नागरिकलाई मतदान गर्न सहज हुने उनले बताए।
नेपालको भौगोलिक अवस्था, यातायातको पहुँच र रोजगारीको प्रकृतिलाई ध्यानमा राख्दै सरकारले व्यावहारिक निर्णय गर्नुपर्ने बोहराको भनाइ छ।
उनले भने, “विदेशमा रहेका नेपालीलाई तत्काल मतदानको वातावरण बनाउन नसकिए पनि देशभित्र रहेकालाई त मतदान गर्ने अवसर सहज बनाउनुपर्छ। यसले मतदाता सहभागिता उल्लेख्य रूपमा बढ्नेछ।”




