आचारसंहिता विपरीत गतिविधि नगर्न रवि लामिछानेलाई नवलपरासी प्रशासनको चेतावनी



बुटवल, माघ २७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पश्चिम नवलपरासीमा गर्ने भनिएको चुनावलक्षित कार्यक्रमप्रति जिल्ला प्रशासन कार्यालय नवलपरासी पश्चिमले चासो देखाएको छ। प्रशासनले मंगलबार तय गरिएको कार्यक्रम निर्वाचन आचारसंहिताभित्र रहेर मात्रै गर्न आग्रह गर्दै आचारसंहिता विपरीत गतिविधि नगर्न चेतावनी दिएको हो।

सहायक प्रमुख जिल्ला अधिकारी तथा निर्वाचन आचारसंहिता अनुगमन अधिकृत पोषणराज भण्डारीले जारी गरेको सूचनामा माघ २७ गते जिल्लामा हुने भनिएको ‘जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम’का सन्दर्भमा आचारसंहिता आकर्षित हुने उल्लेख गर्दै कुनै पनि उल्लंघन हुने कार्य नगर्नरनगराउन सम्बन्धित सबैलाई जानकारी गराइएको छ।

यसअघि सोमबार सुप्रिम सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा तारिख बुझ्न जिल्ला अदालत रुपन्देही पुगेका लामिछानेले रुपन्देहीका विभिन्न स्थानमा समर्थकहरूसँग भेटघाट गर्दै केही ठाउँमा सम्बोधन समेत गरेका थिए। उनलाई सडकमा परिचयात्मक भेटघाटका लागि मात्र अनुमति दिइएको भए पनि चुनावी शैलीमा भाषण गरेको आरोप लागेको छ।

रुपन्देहीका मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतले लामिछानेलाई सभा नगर्ने शर्तमा भेटघाटको अनुमति दिइएको स्पष्ट पारे। आचारसंहिता उल्लंघन भएरनभएको विषयमा अनुगमन गरी आवश्यक कारबाही गरिने उनले बताए।

उता रास्वपा नेता तथा नवलपरासी पश्चिम क्षेत्र नम्बर १ का उम्मेदवार विक्रम खनालले भने आचारसंहिता उल्लंघन नहुने गरी कार्यक्रम गरिने दाबी गरेका छन्। झण्डा प्रयोग नगरी मतदाता र कार्यकर्तालाई अभिवादन गर्ने योजना रहेको उनको भनाइ छ।
उनले भने, “अरू दलले पनि गरेका छन्, रास्वपाले गर्न नपाउने भन्ने हुँदैन।”

रुपन्देही–३ का राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार मोजिब अलीले भने निर्वाचन कार्यालयले अनुमति दिँदाकै चरणमा कमजोरी भएको आरोप लगाए। तोकिएको समयभन्दा अघि चुनावी गतिविधि हुँदा पनि सम्बन्धित निकायले बेवास्ता गरेको उनको गुनासो छ।

निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा निर्वाचनका लागि राजनीतिक दलहरूलाई फागुन ४ देखि १८ गतेसम्म मात्र सभा, जुलुस, कोणसभा, र्‍याली तथा माइकिङमार्फत प्रचारप्रसार गर्न पाउने व्यवस्था छ। फागुन १९ र २० गते मौन अवधि लागू हुनेछ।

आयोगले माघ ४ गते रातिदेखि नै निर्वाचन आचारसंहिता लागू भइसकेको र अर्को सूचना नभएसम्म कायम रहने स्पष्ट पारेको छ।

प्रकाशित मिति: २०८२ माघ २८, मंगलवार ०८:५२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको