हुलाकी सडक अधुरै रहनुमा कांग्रेस–कम्युनिष्ट जिम्मेवार : उपेन्द्र यादव



सप्तरी, माघ २८ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशको ‘लाइफलाइन’ का रूपमा रहेको हुलाकी सडक तीन दशक बित्दासमेत अधुरै रहनुमा कांग्रेस र कम्युनिष्ट सरकार जिम्मेवार रहेको आरोप लगाएका छन्।

मंगलबार सप्तरीको राजगढ गाउँपालिका–३ नर्घोमा आयोजित चुनावी छलफल तथा भेंटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले योजनाबद्ध रूपमा मधेशलाई पछाडि पारिएको बताए। पहाडी जिल्लाहरूमा सडक सञ्जाल विस्तार हुँदै गए पनि मधेशमा अझै आधारभूत पूर्वाधारको अभाव रहेको उनको भनाइ थियो।

उनले भने, “मधेशको लाइफलाइन हुलाकी सडक ३० वर्षमा पनि पूरा हुन सकेको छैन, तर मदन भण्डारी द्रुतमार्ग छोटो समयमै बन्यो। यसका लागि कांग्रेस र कम्युनिष्ट सरकार जिम्मेवार छन्।” भारत सरकारबाट प्राप्त सहयोग हुँदाहुँदै पनि निर्माण कार्य अलपत्र पारिएको उनले टिप्पणी गरे।

अध्यक्ष यादवले महेन्द्र राजमार्ग निर्माणका क्रममा मधेशका सदरमुकामहरू समेट्नुपर्ने भए पनि नियतवश अन्यत्रबाट मार्ग तय गरिएको चर्चा गरे। बारा जिल्लामा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थलका लागि अर्बौं मुआब्जा खर्च भए पनि काम अघि नबढेको भन्दै उनले असन्तोष व्यक्त गरे। “यदि विमानस्थल बनेको भए मधेशकै विकासको ढोका खुल्ने थियो,” उनले भने।

सुनकोसी–मरिन डाइभर्सन आयोजना ९० प्रतिशत पूरा हुँदासमेत ठेक्का तोडेर काम रोकिएको भन्दै यादवले वर्तमान सरकारप्रति आपत्ति जनाए। ठूला विकास आयोजनाहरू सम्पन्न हुन नदिनु कांग्रेस–कम्युनिष्टको प्रवृत्ति भएको आरोप लगाउँदै उनले अधिकार र विकासका लागि मधेशवादी शक्तिलाई बलियो बनाउनुपर्नेमा जोड दिए।

सप्तरी क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका यादवले विगतमा जितेर गएर काम नगर्ने नेतालाई कामको आधारमा मूल्याङ्कन गर्न मतदातालाई आग्रह गरे। “यदि विकास र अधिकारका लागि लडेका छन् भने भोट दिऔं, होइन भने जवाफ दिएर पठाऔं,” उनले भने।

आफू सप्तरी–२ बाट निर्वाचित हुँदा अघि बढाइएका कतिपय योजनाले पूर्णता नपाएकोमा उनले दुःख व्यक्त गरे।

जिल्ला अध्यक्ष सुनिलकुमार झाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेतृ तथा पूर्वमन्त्री रेणु कुमारी यादव, केन्द्रीय सचिव तथा पूर्वमन्त्री शैलेन्द्र प्रसाद साह, प्रदेशसभा सदस्य किरण साह, केन्द्रीय सदस्यहरू पुष्पा ठाकुर, बिदेश्वर प्रसाद यादव ‘बिक्की’, पूर्व उपसभामुख उपमा देव, जिल्ला अध्यक्ष केदार प्रसाद यादव, समानुपातिक उम्मेदवार चुल्हाइ मण्डल, जिल्ला सचिव जयनारायण यादव लगायतले पनि मन्तव्य राखेका थिए।

अध्यक्ष यादवसहितका नेताहरूले राजगढ गाउँपालिका–३ अन्तर्गत कट्टी, नर्घो पुबारी टोल, दक्षिणबारी टोल, झहुरा चोक र पछबारी टोलमा आयोजित विभिन्न छलफल तथा भेंटघाट कार्यक्रममा सहभागिता जनाएका थिए।

प्रकाशित मिति: २०८२ माघ २८, बुधबार ०८:१५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको