झुम्का कारागारबाट फरार ८ कैदी धनकुटाबाट पक्राउ



धनकुटा, माघ २९। सुनसरीको झुम्का कारागारबाट फरार रहेका ८ जना कैदीलाई धनकुटा प्रहरीले पक्राउ गरेको छ। उनीहरू गत भदौ २४ गते रामधुनी नगरपालिका–५ स्थित कारागारबाट भागेका थिए।

जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख प्रहरी उपरीक्षक शरतकुमार थापा क्षेत्रीका अनुसार फरारमध्ये संखुवासभा खाँदवारी नगरपालिका–९ का ३० वर्षीय युवराज राईलाई साँगुरीगढी गाउँपालिका–६ भेडेटार चोकबाट पक्राउ गरिएको हो। कर्तव्य ज्यान मुद्दामा १२ वर्ष ६ महिना कैद सजाय भुक्तान गरिरहेका बेला उनी फरार भएका थिए।



त्यस्तै चौविसे गाउँपालिका–३ का ३४ वर्षीय सिजन तामाङलाई घरबाटै नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। अङ्गभङ्ग मुद्दामा ३० महिना कैद र २५ हजार रुपैयाँ जरिवाना तोकिएका तामाङ पनि कारागारबाट भागेका थिए।

लागुऔषध मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका सहिदभूमि गाउँपालिका–२ का २१ वर्षीय सुरेश शिवा, धनकुटा नगरपालिका–६ का २६ वर्षीय अनिल सहनी, सहिदभूमि गाउँपालिका–७ का संगम माझी र साँगुरीगढी गाउँपालिका–१ का ३३ वर्षीय बुद्धराज लिम्बूलाई जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरिएको हो।

यसैगरी कर्तव्य ज्यान तथा चोरी मुद्दामा २० वर्ष कैद र १ लाख रुपैयाँ जरिवाना तोकिएका चौविसे गाउँपालिका–२ धारापानीका ४६ वर्षीय रमेश पाङ्मी मगर र कर्तव्य ज्यान मुद्दामा २५ वर्ष कैद सजाय पाएका धरान उपमहानगरपालिका–२० का ३२ वर्षीय सागर राईलाई पनि लुकिछिपी बसेको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ परेका सबैलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पुनः कारागार बुझाइएको एसपी थापा क्षेत्रीले जानकारी दिए।

प्रकाशित मिति: २०८२ माघ २९, बिहीबार १७:४१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको