सुनसरी, माघ २९। नेपाली कांग्रेसका सभापति गगन थापाले संविधान, वर्तमान व्यवस्था र देशको सुरक्षाका लागि कांग्रेसलाई मत दिन आवश्यक रहेको बताएका छन्।
चुनावी अभियानका क्रममा सुनसरी–४ पुगेका थापाले अन्य दललाई मत दिएर संविधानले सुनिश्चित गरेका अधिकारहरूको रक्षा गर्न कठिन हुने जिकिर गरे।
उनले भने, “यो निर्वाचनबाट प्राप्त हुने शक्तिले संविधान पनि जोगाउनुपर्छ, व्यवस्था पनि जोगाउनुपर्छ र देश पनि जोगाउनुपर्छ।” उनका अनुसार अहिलेको अवस्थामा ती जिम्मेवारी पूरा गर्न सक्ने दल कांग्रेस मात्र रहेको दाबी गरे।
सभापति थापाले परिवर्तन भएको कांग्रेसको प्रतिबद्धतामा जनताले विश्वास गर्ने बताए।
“देशकै सबैभन्दा पुरानो पार्टी नेपाली कांग्रेस हो, यसमा हामी गर्व गर्छौं,” उनले भने, “तर सोच र दृष्टिकोणका हिसाबले कांग्रेस सबैभन्दा नयाँ पार्टी पनि हो।”






