काठमाडौं, फागुन १ । जनता समाजवादी पार्टी, (जसपा) नेपालले समावेशी लोकतन्त्र, सामाजिक न्याय र आर्थिक रूपान्तरणलाई केन्द्रमा राख्दै आफ्नो विस्तृत चुनावी घोषणा-पत्र सार्वजनिक गरेको छ। पार्टीले वर्तमान राजनीतिक तथा आर्थिक अवस्थालाई गम्भीर चुनौतीपूर्ण बताउँदै वैकल्पिक नीति, सुशासन र पहिचानसहितको संघीयताको पक्षमा स्पष्ट अडान प्रस्तुत गरेको हो।
काठमाडौंको अनामनगरमा आयोजित कार्यक्रममा घोषणा पत्र सार्वजनिक गर्दै अध्यक्ष उपेन्द्र यादवले राज्य पुनर्संरचना, समानुपातिक प्रतिनिधित्व, संविधान संशोधन, तथा उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्नुपर्ने विषयलाई प्राथमिकतामा राखिएको बताए ।
घोषणापत्रमा जसपाले शिक्षा, स्वास्थ्य र न्यायलाई मौलिक अधिकारका रूपमा स्थापित गर्दै यी सेवा निःशुल्क, पहुँचयोग्य र गुणस्तरीय बनाउने प्रतिबद्धता जनाएको छ।
पार्टीले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अपनाउने, जनलोकपालजस्ता संयन्त्र निर्माण गर्ने तथा सरकारी निर्णय प्रक्रियालाई पारदर्शी बनाउने योजना अघि सारेको छ। वित्तीय क्षेत्रमा नगदरहित कारोबारलाई प्रोत्साहन गर्दै बैंकिङ प्रणालीलाई सेवा केन्द्रित बनाइने उल्लेख छ।
युवा रोजगारी, सीप विकास, कृषि आधुनिकीकरण र औद्योगिकीकरणमार्फत उत्पादनमुखी अर्थतन्त्र निर्माण गर्ने जसपाको लक्ष्य छ। वैदेशिक रोजगारीलाई बाध्यता नभई विकल्प बनाउने, श्रमिक सुरक्षामा विशेष ध्यान दिने तथा फर्किएका युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने नीति पनि घोषणा–पत्रमा समेटिएको छ।
त्यस्तै, दलित, महिला, मधेशी, आदिवासी जनजाति, मुस्लिम, थारूलगायत सीमान्तकृत समुदायको सम्मान, पहिचान र समान सहभागिता सुनिश्चित गरिने प्रतिबद्धता दोहोर्याइएको छ। सामाजिक सुरक्षा, वातावरण संरक्षण, चुरे बचाउ, तथा पूर्वाधार विकासलाई पनि प्राथमिकतामा राखिएको छ।
जसपाले प्रस्तुत कार्यक्रम कार्यान्वयनमार्फत लोककल्याणकारी राज्य स्थापना गर्दै समानता, समृद्धि र नागरिकको मर्यादा सुनिश्चित गर्ने दाबी गरेको छ।
चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रममा नेताहरु व्यापक सहभागिता रहेको केन्द्रिय कार्यसम्पादन समितिका सदस्य लालकिशोर साहले जनाएका छन ।






