ओम प्रकाश यादव
रौतहट, फागुन ३ । महाशिवरात्रिको अवसरमा रौतहटको गरुडा नगरपालिका–५, शिवनगरस्थित महादेव मन्दिरमा आज बिहानैदेखि भक्तजनहरूको उल्लेख्य भीड लागेको छ। भगवान शिव शंकरको दर्शन तथा पूजाआजा गर्न स्वदेश तथा छिमेकी देश भारतबाट समेत हजारौं श्रद्धालुहरू शिवनगर धाम पुगेका छन्।
हरेक वर्ष झैँ यस वर्ष पनि महाशिवरात्रिको अवसरमा शिवनगर महादेव मन्दिर परिसरमा विशेष मेला आयोजना गरिएको छ। मन्दिर व्यवस्थापन समितिका अनुसार रौतहट, बारा, सर्लाही लगायत मधेशका विभिन्न जिल्लाबाट भक्तजनहरू बिहानैदेखि लाइनमा उभिएर दर्शन गरिरहेका छन्। भारतको बिहार राज्यबाट समेत ठूलो संख्यामा श्रद्धालुहरू आएका छन्।
दर्शनार्थीहरूसँगै “बोल बम” का जयघोष गर्दै कावड बोक्ने कावरिया भक्तजनहरूको समेत उल्लेख्य उपस्थिति देखिएको छ। मन्दिर परिसर तथा आसपासका क्षेत्रमा भजन–कीर्तन, पूजाआजा र धार्मिक अनुष्ठानहरू सञ्चालन भइरहेका छन्। सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्वयंसेवक परिचालन गरिएको छ।
मेला व्यवस्थापन समितिले आज बेलुकासम्म पांच लाखभन्दा बढी भक्तजनले दर्शन गर्ने अनुमान गरेको छ। अस्वाभाविक भीडका कारण शिवनगरस्थित गौर–चन्द्रनिगाहपुर सडकखण्डमा सवारी साधनको लामो जाम लागेको छ। यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ।
महाशिवरात्रिको अवसरमा शिवनगर क्षेत्र पूर्ण रूपमा धार्मिक माहोलमा परिणत भएको छ भने स्थानीय व्यापारीहरू पनि मेलाबाट उत्साहित देखिएका छन्।






