काठमाडौँ, फागुन ३। आराध्यदेव भगवान् शिवको विशेष पूजाआराधना गरी आज जनकपुरधाम सहित देशभर महाशिवरात्रि पर्व श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ। जनकपुर लगायत मधेशका विभिन्न स्थानका शिवालयमा बिहानैदेखि भक्तजनको बाक्लो उपस्थिति देखिएको छ।
फाल्गुन कृष्ण चतुर्दशीको मध्यरातमा भगवान् शिवले शिवरूप धारण गर्नुभएको विश्वासका आधारमा यस दिन व्रत, उपवास, जाग्राम र पूजाअर्चना गर्ने परम्परा रहिआएको छ। भक्तजनले दूध, बेलपत्र र धतुरो अर्पण गर्दै परिवारको सुख, शान्ति तथा समृद्धिको कामना गरिरहेका छन्। नदी, कुण्ड र तलाउमा स्नान गरी मन्दिर पुग्नेहरूको चहलपहल बिहानैदेखि बढेको छ। जनकपुरधामको शिवचोक स्थित शिव मन्दिर, कपिलेश्वर मन्दिर, कुवा मन्दिर लगायतको शिवालयहरुमा विहानै देखी श्रद्धालुहरुको घुइचो लागेको छ ।
महाशिवरात्रिलाई कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार पवित्र रातमध्ये एक मानिन्छ। दीनदुःखीको उद्धार गर्ने आशुतोष भगवान् शिवको प्रिय दिनका रूपमा समेत यस पर्वलाई लिइन्छ। उपवास बसी रातभर जाग्राम गरे सर्वसिद्धि प्राप्त हुने धार्मिक विश्वास छ।
पशुपतिमा विशेष व्यवस्था
महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिर मा बिहान २ बजेदेखि नै चारै ढोका खुला गरिएको छ। पशुपति क्षेत्र विकास कोष का अनुसार भक्तजनको सुविधाका लागि बाहिरी र भित्री लाइन, पार्किङ तथा सुरक्षाको विशेष व्यवस्था मिलाइएको छ। गाँजा, भाङ, धतुरोलगायत लागुपदार्थ निषेध गरिएको र उल्लङ्घन गरे कारबाही हुने चेतावनी समेत दिइएको छ।
हरेक वर्ष झैँ यस वर्ष पनि देशका विभिन्न भागका साथै भारत बाट आएका तीर्थयात्रीको ठूलो भीड लाग्ने अनुमान गरिएको छ। रातभरि चार प्रहरमा विशेष पूजा, दीपोत्सव तथा बेलपत्र अर्पणका कार्यक्रम सञ्चालन हुनेछन्।
जनकपुरमा भजन–कीर्तन
जनकपुर का शिव मन्दिरहरूमा धुनी, भजन–कीर्तन, प्रसाद वितरण र जाग्रामका कार्यक्रम भइरहेका छन्। स्थानीय तह, प्रहरी र मन्दिर व्यवस्थापन समितिले दर्शनलाई व्यवस्थित बनाउन आवश्यक तयारी गरेका छन्।
राष्ट्रिय सांस्कृतिक पर्वका रूपमा रहेको महाशिवरात्रिले धार्मिक आस्था, सामाजिक सद्भाव र सांस्कृतिक एकतालाई अझ मजबुत बनाउने विश्वास लिइएको छ।






