एजेन्सी, फागुन ५ । भारत र श्रीलंकामा जारी आइसिसि टी–२० विश्वकप अन्तर्गत समूह चरणबाटै बाहिरिसकेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज स्कटल्यान्डविरुद्ध अन्तिम खेल खेल्दैछ। खेल मुम्बईस्थित वानखेडे स्टेडियम मा साँझ ७ १५ बजे सुरु हुनेछ।
लगातार तीन खेलमा पराजित हुँदै सुपर–८ को दौडबाट बाहिरिएको नेपाल आजको खेलमा जित निकाल्दै प्रतियोगिताको सुखद् अन्त्य गर्ने लक्ष्यमा छ। नेपाल पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनले पराजित भएको थियो भने दोस्रो खेलमा इटालीसँग १० विकेटको फराकिलो हार बेहोरेको थियो। तेस्रो खेलमा वेस्ट इण्डिजसँग ९ विकेटले पराजित हुँदै नेपालको सुपर–८ सम्भावना समाप्त भएको थियो।
नेपालसँगै स्कटल्यान्ड पनि यसअघि नै सुपर–८ बाट बाहिरिसकेको छ। इंग्ल्यान्डले इटालीलाई २४ रनले हराउँदै अर्को चरणमा स्थान पक्का गरेपछि स्कटल्यान्डको सम्भावना टुंगिएको हो। स्कटल्यान्डले पहिलो खेलमा वेस्ट इण्डिजसँग ३५ रनले हार बेहोरे पनि दोस्रो खेलमा इटालीलाई ७३ रनले हराएको थियो। तेस्रो खेलमा भने इंग्ल्यान्डसँग ५ विकेटले पराजित भएको थियो।
नेपाल रहेको समूहबाट वेस्ट इण्डिज र इंग्ल्यान्ड सुपर–८ मा प्रवेश गरिसकेका छन्। स्कटल्यान्ड, इटाली र नेपाल भने समूह चरणबाटै बाहिरिएका छन्।
यसैबीच आजै समूह डी मा क्यानडा र न्युजिल्यान्ड तथा समूह बी मा जिम्बाबे र आयरल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ। हालसम्म पाँच टोली सुपर–८ मा पुगिसकेका छन् भने बाँकी तीन स्थानका लागि प्रतिस्पर्धा जारी छ। समूह ए बाट भारत, समूह बी बाट श्रीलंका र समूह डी बाट दक्षिण अफ्रिका सुपर–८ मा पुगिसकेका छन्।
नेपालका लागि आजको खेल प्रतिष्ठाको लडाइँका रूपमा हेरिएको छ।






