बंगलादेशमा १६ महिनापछि नयाँ सरकार बन्दै



एजेन्सी, फागुन ५ । बंगलादेशमा १६ महिनापछि नयाँ सरकार गठन हुन लागेको छ। फेब्रुअरी १२ मा सम्पन्न चुनावबाट निर्वाचित सांसदहरूले आज संसद् भवनको दक्षिण प्लाजामा शपथ ग्रहण गर्नेछन्। त्यसपछि अपराह्न ४ बजे नयाँ प्रधानमन्त्री तारिक रहमान र मन्त्रिपरिषद् सदस्यहरूको शपथ कार्यक्रम हुनेछ।

चुनावमा दुईतिहाइभन्दा बढी सिट जितेको बंगलादेश नेसनालिस्ट पार्टी ९बीएनपी० का अध्यक्ष तारिक रहमान प्रधानमन्त्री बन्ने भएका हुन्। उनले आफ्ना समर्थकहरूसँगै नयाँ सरकारको नेतृत्व सम्हाल्नेछन्।



विद्यार्थी आन्दोलन र त्यसपछिका घटनाक्रमका कारण सन् २०२४ अगस्ट ५ मा तत्कालीन प्रधानमन्त्री शेख हसिना देश छोडेर भारत भागेकी थिइन्। त्यसपछि मोहम्मद युनुसको नेतृत्वमा गठित अन्तरिम सरकारले बंगलादेशमा १६ महिनासम्म सत्ता सञ्चालन गरेको थियो। सोमबार राति नै युनुसले बिदाइ भाषण गर्दै राजीनामा दिएका छन्।

फेब्रुअरी १२ को आम चुनावमा बीएनपी गठबन्धनले २१२ सिट जितेर दुईतिहाइ बहुमत हासिल गरेको छ। विपक्षी जमात(ए(इस्लामी गठबन्धन ले ७७ सिट जितेको छ।

सन् २०२४ को विद्यार्थी आन्दोलनको क्रममा तत्कालीन सरकारले दमन गर्दा करिब १४ सय जनाको मृत्यु भएको थियो। तत्कालीन प्रधानमन्त्री हसिनालाई दोषी ठहर गर्दै अदालतले मृत्युदण्ड सजाय समेत सुनाएको थियो। तर भारतमा लुकेर बसेकी हसिनालाई बंगलादेशले फिर्ता पठाउन बारम्बार अनुरोध गरेको भए पनि भारत सरकारले बेवास्ता गर्दै आएको छ।

यो पहिलो चुनाव हो जुन हसिनाको अनुपस्थितिमा भएको हो। साथै पूर्वप्रधानमन्त्री खालिदा जिया को निधनपछि भएको पहिलो चुनाव पनि हो।

सन् १९९१ देखि २०२४ सम्म हसिना र खालिदा जियाले पालैपालो गरेर ३५ वर्षसम्म बंगलादेशमा शासन गरेका थिए। ३५ वर्षपछि पुरुष प्रधानमन्त्री बन्ने भएकाले यसले देशको राजनीतिक इतिहासमा नयाँ अध्याय लेख्दैछ।

हसिनाको पार्टी अवामी लिग यस चुनावमा प्रतिबन्धित रहेकाले उनले यस निर्वाचनलाई ‘पूर्वनियोजित छल र प्रहसन’ भएको बताएकी छन्।

प्रकाशित मिति: २०८२ फाल्गुन ५, मंगलवार ०९:०२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको