सप्तरी, फागुन ९ । जनमत पार्टीले चुनाव लक्षित शक्ति प्रदर्शन गरेको छ । सप्तरी सदरमुकाम राजविराजमा शनिवार शक्ति प्रदर्शन गरिएको हो ।
निर्वाचन क्षेत्र नम्बर २ मा पर्ने यहाँबाट यसपल्ट पनि जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउत उम्मेदवार छन् । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा उनी यसै क्षेत्रबाट निर्वाचित भएका थिए ।
जितलाई निरन्तरता दिन जिल्ला कार्य समितिद्वारा उनको समेत सहभागितामा युवा दस्ता मार्फत शक्ति प्रदर्शन गरिएको छ । नगरक्षेत्रमा प्रदर्शन पश्चात स्थानिय राजदेवी माविको खेल मैदानमा युवा दस्तालाई चुनाव लक्षित प्रशिक्षण कार्यक्रको आयोजना समेत गरिएको छ ।
प्रशिक्षणमा सहभागी युवाहरुलाई सम्बोधन गर्दै अध्यक्ष डा. राउतले आफ्नो पार्टीको मुख्य लक्ष्य नै ‘विकास र निकास’ भएको बताउँदै भने, ‘जनमत पार्टी सधैं गरिब, दलित, मुस्लिम तथा पिछडिएको सिमान्तकृत समुदायको पक्षमा वकालत गर्दैआएको छ ।” आफुहरुले गुण्डाराज नभई जनताराज ल्याउ चाहेको भन्दै उनले यसका लागि चुनावमा जनमतलाई सहयोग गर्न युवाहरुलाई आह्वान गरे ।
‘जनमत पार्टी आफ्ना कुनै एजेन्डाबाट पछि हटेको छैन’, प्रशिक्षणको क्रममा अध्यक्ष डा. राउतले भने, ‘रोजगारीको एजेन्डा हाम्रो छँदैछ, एक सिट जितेर दुई–अढाई वर्षमै पुरा गर्न नसकिने भएको हुँदा क्रमशः हरेक ठाउँमा रोजगारीकै लागि ग्राम उद्योग भवनको पूर्वाधारहरु निर्माण भईरहेको छ, केही ठाउँमा निर्माणसमेत भईसकेको छ ।’
सोही प्रशिक्षणलाई सम्बोधन गर्दै जनमत पार्टीका नेता एवं मधेश प्रदेशका अर्थमन्त्री महेशप्रसाद यादवले आफूहरुले ल्याएको ‘रोजगारी’को मुद्दा अहिले सबै पार्टीको चुनावी घोषणापत्रमा आउनु भनेको नै जनमतको जित भएको उल्लेख गरे ।
‘हामी रोजगारी श्रृजना गर्नबाट एकरति पनि पछि हटेका छैनौं’, उनले भने, ‘यसकालागि धेरै कामहरु भईरहेको छ, ग्राम उद्योगहरु निर्माण भएको छ, धेरै निर्माणधिन छन्, ३० हजार जेनजी युवालाई मधेश प्रहरीमा भर्ना गर्ने निर्णय नै भईसकेको छ ।’
‘सप्तरीको २ नम्बर निर्वाचन क्षेत्रमा धेरै विकासका योजनाहरु हामीले ल्याएका छौं, ती योजनाहरुलाई पारदर्शी गर्न हामीले त आफ्ना चुनावी वाचा पत्रमै राखिदिएका छौं’, उनले भने, ‘हामी सबैको साझा लक्ष्यचाहिं यो चुनावमा विजयी प्राप्त गर्नु हो र यसमै केन्द्रीत रहन आग्रह गर्दछु ।’
कार्यक्रममा युवा र महिलाहरुको उल्लेख्य सहभागिता थियो ।






