काठमाडौं, फागुन ९ । आगामी फागुन २१ गते हुने निर्वाचनपछि नेकपा एमाले (एमाले) नै मुलुकको पहिलो पार्टी बन्ने र सरकारको नेतृत्व गर्ने दाबी गरेको छ। पार्टीले आफ्नो घोषणापत्र, विगतका काम र जनसमर्थनका आधारमा निर्वाचनमा स्पष्ट सफलता हासिल गर्ने विश्वास व्यक्त गरेको हो।
शनिबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत एमालेले यस्तो धारणा सार्वजनिक गरेको हो। कार्यक्रममा पार्टीका प्रचार–प्रसार विभाग प्रमुख मीनबहादुर शाहीले आगामी निर्वाचनमा एमाले सबैभन्दा लोकप्रिय पार्टीका रूपमा स्थापित हुने दाबी गरे।
उनका अनुसार पार्टीले विगतमा गरेका काम, विकासका उपलब्धि र आगामी योजनाका आधारमा जनताले एमालेमाथि विश्वास गर्नेछन्। “हामीले गरेका वाचा र विगतमा हासिल गरेका उपलब्धिका आधारमा नेकपा एमाले मुलुकको सर्वाधिक लोकप्रिय पार्टी बन्नेछ र पहिलो पार्टीको रूपमा स्थापित हुनेछ,” उनले भने।
यससँगै एमालेले निर्वाचन नजिकिँदै गर्दा चुनाव प्रभावित पार्ने प्रयासहरू भइरहेको आरोप पनि लगाएको छ। पार्टीले विभिन्न किसिमका षड्यन्त्रका तानाबाना बुनिँदै गरेको दाबी गर्दै त्यसप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ। शाहीले निर्वाचन निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण रूपमा सम्पन्न हुनुपर्नेमा जोड दिए।
एमालेले फागुन २१ पछि पनि पार्टी अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वमा मुलुक अघि बढ्ने विश्वास व्यक्त गरेको छ। पार्टीका अनुसार “समृद्ध नेपाल, सुखी नेपाली” को राष्ट्रिय लक्ष्य पूरा गर्न एमालेले नेतृत्वदायी भूमिका निर्वाह गर्नेछ।
पत्रकार सम्मेलनमार्फत एमालेले आगामी निर्वाचनलाई लोकतन्त्र सुदृढ गर्ने अवसरका रूपमा लिनुपर्ने पनि बताएको छ। साथै संवैधानिक सर्वोच्चता, कानुनी शासन, मानव अधिकार र सामाजिक न्यायका मूल्य–मान्यताप्रति पार्टी प्रतिबद्ध रहेको दोहोर्याएको छ।
निर्वाचन नजिकिँदै जाँदा प्रमुख राजनीतिक दलहरूबीच प्रतिस्पर्धा तीव्र बन्दै गएको छ भने दलहरूले आ–आफ्नो विजयको दाबी गर्दै चुनावी अभियानलाई थप सक्रिय बनाएका छन्।






