सप्तरी, फागुन १० । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेश बलियो नभएसम्म मुलुकमा संघीयता सुरक्षित रहन नसक्ने बताएका छन्। चुनावी अभियानअन्तर्गत आइतबार आयोजित सभालाई सम्बोधन गर्दै उनले संघीय प्रणालीको रक्षा मधेशको सशक्त उपस्थिति, निरन्तर संघर्ष र खबरदारीमा निर्भर रहेको उल्लेख गरे।
सप्तरी जिल्ला निर्वाचन क्षेत्र नं। ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका अध्यक्ष यादवले संघीयताको स्थापनामा मधेशको ऐतिहासिक भूमिका स्मरण गराए। “संघीयताको जननी नै मधेश प्रदेश हो। मधेशको बलिदान, संघर्ष र आन्दोलनकै कारण आज देश संघीय संरचनामा अघि बढेको छ,” उनले भने।
उनले पछिल्लो समय संघीय व्यवस्थालाई कमजोर पार्ने, अधिकार कटौती गर्ने तथा पुनः केन्द्रिकृत शासन प्रणालीतर्फ फर्काउने प्रयास भइरहेको आरोप लगाए। “संघीयतालाई असफल देखाउने र जनताको अधिकार खोस्ने योजनाबद्ध प्रयास भइरहेका छन्। तर मधेश सचेत र संगठित रह्यो भने त्यस्ता कुनै पनि षड्यन्त्र सफल हुँदैनन्,” अध्यक्ष यादवले बताए।
उनका अनुसार संघीयता कागजमा सीमित नहोस् भन्नका लागि मधेशले निरन्तर आवाज उठाइरहनु आवश्यक छ। “मुलुकमा संघीयता धानिएकै मधेशको दृढ अडानका कारण हो। मधेश मौन बस्यो भने संघीयता कमजोर बन्छ,” उनले चेतावनी दिए। संघीय शासन प्रणालीलाई व्यवहारिक रूपमा प्रभावकारी बनाउन प्रदेश र स्थानीय तहलाई पर्याप्त अधिकार, स्रोत र साधन उपलब्ध गराउनुपर्नेमा उनले जोड दिए।

अध्यक्ष यादवले मधेशको राजनीतिक, आर्थिक र प्रशासनिक सशक्तीकरणलाई आजको अपरिहार्य आवश्यकता भएको बताए। “मधेश कमजोर भयो भने संघीयता टिक्दैन। त्यसैले मधेशलाई सबै हिसाबले बलियो बनाउनु आजको प्रमुख दायित्व हो,” उनले स्पष्ट पारे। उनले शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, रोजगारी सिर्जना र सामाजिक न्यायका सवालमा मधेशलाई प्राथमिकतामा राखेर नीति निर्माण गर्नुपर्ने धारणा व्यक्त गरे।
सभामा उनले संघीयताको रक्षा, पहिचान र अधिकारको सुनिश्चितताका लागि आफूहरूको पार्टी निरन्तर संघर्षरत रहेको दाबी गरे। “संघीयता केवल शासन प्रणाली होइन, यो जनताको अधिकार, समानता र स्वाभिमानको आधार हो,” उनले भने, “यसको संरक्षणका लागि मधेश सधैं अग्रपंक्तिमा उभिएको छ र उभिरहनेछ।”
चुनावी माहोलबीच अध्यक्ष यादवले आममतदातालाई लोकतान्त्रिक मूल्य, संघीयता र अधिकारको रक्षा गर्न मतदानमार्फत सही निर्णय लिन अपिल गरे। उनले मधेश बलियो भए मात्रै संघीयता सुरक्षित रहने, प्रतिनिधिसभामा बलियो उपस्थिति सुनिश्चित गरेर मधेशको आवाजलाई थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरे।
सभामा स्थानीय नेता–कार्यकर्ता र सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रम शान्तिपूर्ण रूपमा सम्पन्न भएको आयोजकहरूले जनाएका छन्।







