ईरानमाथि युद्धको खतरा बढ्दै, ट्रम्पको अल्टिमेटमबीच छिट्टै आक्रमण हुन सक्ने चर्चा



एजेन्सी, फागुन ११ । मध्यपूर्व क्षेत्रमा तनाव फेरि बढेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंप ले ईरान को परमाणु कार्यक्रमबारे कडा दबाब दिँदै अल्टिमेटम दिएपछि सम्भावित सैन्य कारबाहीको चर्चा तीव्र बनेको छ। अन्तर्राष्ट्रिय राजनीतिक वृत्तमा आज वा भोलिदेखि नै आक्रमण  हुन सक्ने अनुमान सार्वजनिक भएका छन्।

अमेरिकी पक्षका अनुसार भारी सैन्य जमघट र राजनीतिक दबाबका बाबजुद पनि ईरानले आफ्नो परमाणु कार्यक्रम रोक्ने संकेत नदिएकोले वाशिङ्टन असन्तुष्ट देखिएको छ। ट्रम्पका विशेष दूत स्टीव विटकाफले भने राष्ट्रपति निराश नभएको र आवश्यक परे विभिन्न विकल्प प्रयोग गर्न सकिने बताएका छन्।

पूर्व सीआईए अधिकारी जोन किरियाकोऊले एक पोडकास्टमा बोल्दै अमेरिका ईरानमाथि छिट्टै सैन्य कदम चाल्न सक्ने दाबी गरेका छन्। उनका अनुसार ट्रम्पले औपचारिक रूपमा केही समयसीमा दिएको भए पनि व्यवहारमा अचानक निर्णय लिन सक्ने सम्भावना रहन्छ।

फक्स न्यूजसँगको कुराकानीमा विटकाफले अमेरिका वार्ताबाट समाधान खोज्न चाहेको भए पनि तेहरानले ठोस पहल नगरेको उल्लेख गरेका छन्। उनले अमेरिकासँग कूटनीतिक उपायसँगै अन्य विकल्प पनि खुला रहेको संकेत दिएका छन्।

अमेरिकी दाबीअनुसार ईरान छोटो समयमै बम बनाउन सकिने स्तरको यूरेनियम संवर्धनको अवस्थासम्म पुग्न सक्ने जोखिम छ। तर तेहरानले भने आफ्नो परमाणु कार्यक्रम पूर्ण रूपमा शान्तिपूर्ण उद्देश्यका लागि मात्रै भएको दाबी गर्दै आएको छ।

यसैबीच ईरानले केही लचिलो संकेत पनि दिएको छ। यदि उसको शान्तिपूर्ण परमाणु संवर्धनको अधिकारलाई मान्यता दिइयो र प्रतिबन्धहरूमा राहत दिइयो भने उच्च स्तरमा समृद्ध गरिएको यूरेनियमको एक भाग निर्यात गर्ने वा यसको शुद्धता घटाउने विकल्पमा विचार गर्न सकिने ईरानी अधिकारीहरूले बताएका छन्।

ईरानका विदेशमन्त्री अब्बास अरघचीले यसै साता जिनेवा मा अमेरिकी विशेष दूत विटकाफसँग हुने सम्भावित भेटवार्ताबाट कूटनीतिक समाधान निस्कने आशा व्यक्त गरेका छन्।

उता, ईरानभित्र पनि राजनीतिक अवस्था तनावपूर्ण बन्दै गएको छ। पछिल्ला दिनहरूमा तेहरानसहित विभिन्न शहरका विश्वविद्यालयमा विद्यार्थीहरूले सरकारविरुद्ध प्रदर्शन सुरु गरेका छन्। उनीहरूले अघिल्लो आन्दोलनहरू दबाउन सरकारले कडा कदम चालेको आरोप लगाएका छन्।

विश्लेषकहरूका अनुसार यदि वार्ताबाट समाधान निस्केन भने मध्यपूर्व क्षेत्रमा तनाव थप बढ्न सक्छ, जसको प्रभाव अन्तर्राष्ट्रिय राजनीति र विश्व अर्थतन्त्रमा समेत पर्न सक्ने अनुमान गरिएको छ।

प्रकाशित मिति: २०८२ फाल्गुन ११, सोमबार ०७:५३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको