वीरगञ्ज, फागुन १३ । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पर्सा जिल्लामा सुरक्षा तयारी तीव्र पारिएको छ। जिल्ला सुरक्षा समितिले जिल्लाभर रहेका १६७ मतदानस्थलमध्ये १६५ वटाको अनुगमन तथा निरीक्षण कार्य सम्पन्न गरिसकेको जनाएको छ भने बाँकी दुई मतदानस्थलको निरीक्षण पनि छिट्टै पूरा गरिने बताइएको छ।
प्रमुख जिल्ला अधिकारी भोला दाहाल को नेतृत्वमा चारवटै सुरक्षा निकाय तथा जिल्ला निर्वाचन कार्यालय पर्साको संयुक्त टोलीले मतदानस्थलहरूको स्थलगत निरीक्षण गर्दै आएको छ। निरीक्षणका क्रममा मतदानस्थलको भौतिक अवस्था, पहुँच मार्ग, सुरक्षा संवेदनशीलता, सम्भावित जोखिम क्षेत्र तथा आवश्यक जनशक्ति परिचालनबारे विस्तृत मूल्यांकन गरिएको छ।
प्रजिअ दाहालले हालसम्म १६५ मतदानस्थलको अनुगमन सम्पन्न भइसकेको जानकारी दिँदै भयरहित, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न सुरक्षा रणनीति तयार पारिएको बताए। “बाँकी रहेका दुई मतदानस्थलको निरीक्षण पनि चाँडै सम्पन्न गर्नेछौं। निर्वाचनलाई शान्तिपूर्ण बनाउन सबै निकायबीच समन्वय र सहकार्य अत्यावश्यक छ,” उनले भने।
जिल्ला सुरक्षा समितिका अनुसार पर्साका ६२ मतदानस्थललाई अतिसंवेदनशील सूचीमा राखिएको छ। त्यस्तै ८५ मतदानस्थल संवेदनशील र २० मतदानस्थल कम संवेदनशील सूचीमा वर्गीकरण गरिएको छ। सुरक्षा चुनौती, विगतका घटनाक्रम, भौगोलिक अवस्था र सम्भावित जोखिमलाई आधार मानेर वर्गीकरण गरिएको जनाइएको छ।
पर्सामा चार निर्वाचन क्षेत्र रहेका छन्। क्षेत्र नम्बर–१ मा ३४, क्षेत्र नम्बर–२ मा ३८, क्षेत्र नम्बर–३ मा ४७ र क्षेत्र नम्बर–४ मा ४८ मतदानस्थल निर्धारण गरिएको छ। जिल्लाभर कुल ४४१ मतदान केन्द्र तथा दुई अस्थायी मतदान केन्द्र तोकिएका छन्।
मतदान केन्द्रको विवरणअनुसार क्षेत्र नम्बर–१ मा १०३, क्षेत्र नम्बर–२ मा ११० तथा क्षेत्र नम्बर–३ र ४ मा समान ११४–११४ मतदान केन्द्र रहेका छन्। निर्वाचनको दिन मतदान केन्द्रहरूमा पर्याप्त सुरक्षाकर्मी परिचालन गरिने तथा आवश्यकताअनुसार अतिरिक्त सुरक्षा व्यवस्था मिलाइने तयारी गरिएको छ।
पर्सा जिल्लामा कुल मतदाता संख्या तीन लाख ७६ हजार ५१३ रहेको छ। तीमध्ये एक लाख ६४ हजार ४२१ महिला, दुई लाख १२ हजार ७७ पुरुष तथा १५ जना यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका मतदाता रहेका छन्। सुरक्षा समितिले सबै मतदाताले निर्भयतापूर्वक मतदान गर्न सक्ने वातावरण सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको छ।
निर्वाचनलाई लक्षित गर्दै सीमा क्षेत्र, मुख्य बजार क्षेत्र तथा भीडभाड हुने स्थानमा विशेष निगरानी बढाइएको छ। सुरक्षा निकायहरूले संयुक्त रूपमा गस्ती, निगरानी र सूचनाको आदान–प्रदानलाई प्रभावकारी बनाएका छन्।
जिल्ला सुरक्षा समितिले सुरक्षित, व्यवस्थित र शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्ने तयारीलाई अन्तिम रूप दिइरहेको जनाएको छ। प्रशासनले नागरिकहरूलाई अफवाहमा नलाग्न, शान्ति र सद्भाव कायम राख्न तथा निर्वाचन प्रक्रियामा सक्रिय सहभागिता जनाउन आग्रह गरेको छ।




