जनकपुरधाम, फागुन १३ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै ७२ घण्टा अगावै नेपाल–भारत सीमा सिल गर्ने कानुनी प्रावधान रहे पनि मिथिला माध्यमिकी परिक्रमामा सहभागी भारतीय साधुसन्त तथा श्रद्धालुहरूलाई घर फर्किन कुनै अवरोध नगर्ने निर्णय गरिएको छ।
चौतर्फी चासो र आवाज उठ्न थालेपछि धनुषा र महोत्तरीका जिल्ला प्रशासन कार्यालयको अगुवाइमा बसेको सर्वदलीय बैठकले परिक्रमा सहभागीहरूलाई सीमा प्रहरीसँग समन्वय गरी सहज रूपमा घर फर्किने व्यवस्था मिलाउने निर्णय गरेको हो।
मिथिलाको ‘महाकुम्भ’का रूपमा चिनिने मिथिला मध्यमा परिक्रमा मा सहभागी हुन भारतबाट आएका साधुसन्त र श्रद्धालुहरू सीमा सिल भएपछि कसरी फर्किने भन्ने विषयमा चिन्तित बनेका थिए। निर्वाचन आचारसंहिता अनुसार मतदानभन्दा ७२ घण्टा अघि सीमा नाका बन्द गर्ने व्यवस्था रहे पनि धार्मिक यात्रामा सहभागी भएकाहरूलाई मानवीय आधारमा सहजीकरण गर्ने सहमति भएको प्रशासनले जनाएको छ।
जिल्ला प्रशासन कार्यालय धनुषा का सहायक प्रमुख जिल्ला अधिकारी उमेश कुमार दाहाल ले परिक्रमा सहभागीहरूलाई सीमा सिल हुनुअघि नै घर फर्किन आग्रह गरिएको बताए। तर परम्पराअनुसार अन्तर्गृह परिक्रमा पूरा गरेर फर्किने श्रद्धालुहरूका लागि फागुन २० गतेसम्म सीमा नाकामा कुनै अवरोध नगर्ने स्पष्ट पारे।
उनका अनुसार निर्णयपत्रमा सो कुरा स्पष्ट रूपमा उल्लेख नगरिए पनि व्यवहारिक रूपमा सीमा प्रहरीसँग समन्वय गरी सहजता प्रदान गरिनेछ। “सबै कुरा निर्णयपत्रमा लेख्नैपर्छ भन्ने हुँदैन, व्यवहारमा हामी अवरोध गर्दैनौं,” उनले भने।
त्यस्तै जिल्ला प्रशासन कार्यालय महोत्तरी तथा धनुषाका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव ले पनि परिक्रमा सहभागी भारतीय नागरिकलाई मौन अवधिमा घर फर्किन रोक नलगाइने जानकारी दिए। उनका अनुसार सीमा सिलको उद्देश्य बाह्य हस्तक्षेप रोक्नु हो, आफ्नै गन्तव्य फर्किन चाहने विदेशी नागरिकलाई अवरोध गर्नु होइन।
प्रजिअ यादवले निर्वाचन हुने २१ गते बाहेक २० गतेसम्म परिक्रमा सहभागीहरूलाई सीमा प्रहरीसँग समन्वय गरी सहज रूपमा फर्किने व्यवस्था मिलाइने निर्णय सर्वदलीय बैठकबाट भइसकेको बताए। निर्णयपत्रमा उल्लेख नभए पनि आन्तरिक सहमति कायम रहेको उनले स्पष्ट पारे।
तर निर्णयपत्रमा विषय स्पष्ट रूपमा उल्लेख नगरिँदा स्थानीय तहमा केही अन्योल र संशय देखिएको छ। प्रशासनले भने धार्मिक आस्थालाई सम्मान गर्दै सुरक्षा र निर्वाचन व्यवस्थापनबीच सन्तुलन कायम गरिने जनाएको छ।
जनकपुरधामस्थित हनुमानगढीबाट फागुन ४ गते सुरु भएको परिक्रमा भगवान श्री रामजानकीको डोलासहित नेपाल–भारतका विभिन्न धार्मिक स्थलको भ्रमण गर्ने परम्परासँग जोडिएको छ। १५ दिने यात्रा पूरा गरी फागुन १८ गते जनकपुरधाम फर्किने तथा १९ गते अन्तर्गृह परिक्रमा सम्पन्न गरी यस वर्षको धार्मिक यात्रा समापन हुने कार्यक्रम रहेको छ।
प्रशासनले निर्वाचन र धार्मिक गतिविधि दुवैलाई व्यवस्थित ढंगले सम्पन्न गर्न सुरक्षा निकायसँग निरन्तर समन्वय भइरहेको जनाएको छ।






