जनकपुरधाम, फागुन १३ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले क्षेत्रीय विभाजनको राजनीति अब अन्त्यतिर पुगेको बताउँदै मुलुकलाई एकताबद्ध गर्ने अभियानमा आफूहरू अघि बढेको बताएका छन्।
बुधबार जनकपुरधामस्थित जानकी मन्दिर मा दर्शनपश्चात् समर्थकहरूलाई सम्बोधन गर्दै लामिछानेले तराई, पहाड र हिमाललाई अलग–अलग गरेर राजनीति गर्ने प्रवृत्ति अब टिक्न नसक्ने दाबी गरे। “रास्वपा कुनै एक क्षेत्र, समुदाय वा वर्गको मात्रै होइन, समग्र देशको विकासका लागि राजनीति गर्छ,” उनले भने, “अब विभाजनको राजनीति गर्नेहरूको दोकान बन्द हुने समय आएको छ।”
उनले विगतमा क्षेत्रीय भावनालाई भड्काएर सत्ता स्वार्थ पूरा गर्ने प्रवृत्तिले देशलाई कमजोर बनाएको उल्लेख गर्दै सिङ्गो मुलुकलाई एकसूत्रमा बाँध्ने राजनीति आवश्यक रहेको बताए। मधेश, पहाड र हिमालबीच सहकार्य, समान अवसर र समावेशी विकासमार्फत राष्ट्रिय एकता सुदृढ गरिने उनको भनाइ थियो।
सभापति लामिछानेले मधेश दशकौंसम्म विभेद र अन्यायमा परेको स्वीकार गर्दै त्यसको अन्त्यका लागि ठोस पहल गरिने प्रतिबद्धता जनाए। “हामी विभेदको राजनीति होइन, विभेदको अन्त्य गर्ने राजनीति गर्न चाहन्छौं,” उनले भने।
उनले अघिल्लो निर्वाचनमा रास्वपाले सुशासनको मुद्दा प्रमुख रूपमा उठाए पनि विभेद र असमानताका विषयमा अपेक्षित रूपमा बोल्न नसकेको स्वीकार गरे। यसपटक भने सुशासनसँगै सामाजिक न्याय र समान अवसर सुनिश्चित गर्ने एजेन्डा लिएर अघि बढ्ने उनले स्पष्ट पारे।
लामिछानेले मधेशको धार्मिक तथा सांस्कृतिक महत्वलाई उजागर गर्दै यहाँको धार्मिक पर्यटन प्रवर्द्धनमार्फत आर्थिक गतिविधि बढाउन सकिने बताए। विशेष गरी जनकपुरधामलाई अन्तर्राष्ट्रिय धार्मिक पर्यटन केन्द्रका रूपमा विकास गर्न आवश्यक पूर्वाधार, प्रचार–प्रसार र नीतिगत सुधारमा जोड दिने उनको भनाइ थियो।
“जनताको एक–एक मत हाम्रो लागि अमूल्य छ,” उनले थपे, “हामी इमानदारीपूर्वक देशको कुरा गर्छौं र जनविश्वासलाई कदर गर्दै अघि बढ्छौं।”
कार्यक्रममा रास्वपाका स्थानीय नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो। आसन्न निर्वाचनलाई लक्षित गर्दै पार्टीले मधेश प्रदेशमा संगठन विस्तार र जनसम्पर्क अभियानलाई तीव्र बनाएको जनाएको छ।
रास्वपाले आगामी निर्वाचनमा सुशासन, भ्रष्टाचार नियन्त्रण, समावेशी विकास र राष्ट्रिय एकतालाई मुख्य एजेन्डा बनाएको बताएको छ। जनकपुरधामबाट सुरु भएको यो सन्देश देशव्यापी अभियानको भाग रहेको पार्टी स्रोतले जनाएको छ।




