मधेश कृषि विश्वविद्यालयमा होली मिलन समारोह

पदाधिकारी, शिक्षक र कर्मचारी मधेशको मौलिक संस्कृतिमा रमाए


राजविराज, फागुन १४ । मधेश कृषि विश्वविद्यालय मा होली पर्वको अवसरमा भव्य होली मिलन समारोह सम्पन्न भएको छ । विश्वविद्यालयको निर्माणाधिन प्रशासनिक भवन परिसरमा आयोजित कार्यक्रममा पदाधिकारी, प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागीहरूले एक–आपसमा अबिर र रंग लगाउँदै शुभकामना आदान–प्रदान गरेका थिए । मधेशको मौलिक सांस्कृतिक झल्को दिने लोकगीत तथा पारम्परिक बाजागाजासहितको प्रस्तुतिले वातावरणलाई थप रमाइलो बनाएको थियो । विशेष गरी मधेशी संस्कृति झल्काउने पहिरनमा उपस्थित पदाधिकारी र कर्मचारीहरूले कार्यक्रमलाई सांस्कृतिक एकताको प्रतीकका रूपमा मनाएका थिए ।



समारोहमा विश्वविद्यालयका पदाधिकारीहरूले होली पर्वले आपसी सद्भाव, भाईचारा र सहकार्यको भावना अभिवृद्धि गर्ने बताएका थिए । विश्वविद्यालय परिवारबीचको सम्बन्ध अझ सुदृढ बनाउन यस्ता कार्यक्रमले सकारात्मक ऊर्जा प्रदान गर्ने उनीहरूको भनाइ थियो ।

विश्वविद्यालयका रजिष्ट्रार श्रीभगवान ठाकुरको प्रमुख आतिथ्य एवं डिन प्रा. जय प्रकाश दत्तकोृ अध्यक्षतामा भएको कार्यक्रमको अवसरमा परम्परागत परिकार ‘मालपुवा’ लगायत विभिन्न मिठाईको व्यवस्था गरिएको थियो । सहभागीहरूले सामूहिक रूपमा मालपुवा स्वाद लिँदै उत्सवको आनन्द उठाएका थिए ।

नयाँ भवनमा पहिलोपटक आयोजना गरिएको होली मिलन समारोहले विश्वविद्यालय परिवारबीच उत्साह र एकता थप मजबुत बनाएको आयोजकले जनाएको छ । कार्यक्रममा सहभागिहरूले आगामी दिनमा पनि यस्ता सांस्कृतिक तथा सामाजिक कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए ।

होली पर्वले विविधताबीचको एकता र सद्भावको सन्देश दिने विश्वासका साथ कार्यक्रम समापन गरिएको थियो ।
२०८० साल माघ ८ गते जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र मधेश प्रदेशका तत्कालिन मुख्यमन्त्री सरोज कुमार यादवले संयुक्त रुपमा शिलान्यास गरेका उक्त प्रशासनीक भवनको निर्माण कार्य दु्रत गति अघि बढेको छ ।

प्रकाशित मिति: २०८२ फाल्गुन १४, बिहीबार १६:४३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको