जनकपुरधाम, फागुन १५। नेपाली कांग्रेसका नेता तथा धनुषा निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बिमलेन्द्र निधिले संविधानलाई सही मार्गमा अघि बढाउनु अहिलेको प्रमुख राष्ट्रिय दायित्व भएको बताएका छन्।
जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उनले देशमा देखिएको राजनीतिक अस्थिरता, व्यवस्थाप्रति बढ्दो असन्तुष्टि र संघीय संरचनाको प्रभावकारी कार्यान्वयनमा देखिएका कमजोरीप्रति चिन्ता व्यक्त गर्दै संविधानलाई ‘लिकमा ल्याउन’ सबै राजनीतिक शक्ति एकजुट हुनुपर्ने धारणा राखे।
निधिले संविधान कार्यान्वयनमा देखिएका जटिलता हटाउन संघ, प्रदेश र स्थानीय तहबीचको समन्वय सुदृढ गर्नुपर्ने आवश्यकता औंल्याए। “संविधान उत्कृष्ट दस्तावेज हो, तर यसको कार्यान्वयनमा इमान्दारिता र प्रतिबद्धता आवश्यक छ,” उनले भने, “जनताको अधिकार सुनिश्चित गर्न र विकासको गति तीव्र बनाउन संविधानको मर्मअनुसार काम गर्नुपर्छ।”
उनले संघीयता, समावेशिता, धर्मनिरपेक्षता र लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै अघि बढ्नुपर्नेमा जोड दिए। संविधानमाथि अनावश्यक टीकाटिप्पणी गर्नुको सट्टा यसको प्रभावकारी कार्यान्वयनमा केन्द्रित हुनुपर्ने उनको भनाइ थियो।
“सुशासन, पारदर्शिता र जवाफदेहिता अहिलेको आवश्यकता हो। राजनीतिक स्थायित्वबिना आर्थिक समृद्धि सम्भव छैन,” उनले भने, “त्यसैले दलहरूबीच सहमति र सहकार्यको संस्कृति विकास गर्दै परिवर्तनलाई संस्थागत गर्नुपर्छ।”
पत्रकारहरूको जिज्ञासामा उनले मधेश प्रदेशमा विकास निर्माण, रोजगारी सिर्जना र कृषि आधुनिकीकरणका एजेन्डामा सबै पक्ष एकजुट भएर अघि बढ्नुपर्ने बताए। यसका लागि संघ, प्रदेश र स्थानीय तहका सरकारहरू संवेदनशील र जिम्मेवार बन्नुपर्ने उनको जोड थियो।




