एजेन्सी, फागुन १५। अफगानिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले तालिवान विरुद्ध ‘खुला युद्ध’को घोषणा गरेका छन्। सामाजिक सञ्जाल एक्समार्फत् सार्वजनिक वक्तव्य जारी गर्दै उनले भने, “हाम्रो धैर्य समाप्त भइसकेको छ, अब खुला युद्ध हुनेछ।”
बिबिसी उर्दुका अनुसार रक्षामन्त्री आसिफले अफगानिस्तानमा विश्वभरबाट आतंकवादीहरूलाई एकत्रित गरिएको आरोप लगाएका छन्। उनले काबुलस्थित अन्तरिम सरकारले आतंकवाद निर्यात गरिरहेको दाबी पनि गरेका छन्।
यता तालिबान सरकारका मुख्य प्रवक्ता जबिहुल्ला मुसाहिदले पाकिस्तानले काबुल, पक्तिका र कन्धारका केही स्थानमा बमबारी गरेको पुष्टि गरेका छन्। तर, उक्त आक्रमणबाट कुनै मानवीय क्षति नभएको उनको भनाइ छ।
रक्षामन्त्री आसिफले अफगान तालिबानले आफ्ना नागरिकलाई मानवअधिकारबाट वञ्चित गरेको तथा इस्लामले महिलालाई दिएको अधिकारसमेत खोसेको आरोप लगाएका छन्। पाकिस्तानी पक्षका अनुसार हालसम्मको सैन्य अभियानमा १३३ जना तालिबान सदस्य मारिएका र करिब दुई सय घाइते भएका छन्।
अतउल्लाह तरारले एक्समार्फत् काबुल, पक्तिका र कन्धारस्थित तालिबानका रक्षा संरचनामाथि आक्रमण गरिएको जानकारी दिएका छन्। उनका अनुसार दुई कोर मुख्यालय, दुई हतियार डिपो, एक लजिस्टिक्स गोदाम, तीन बटालियन मुख्यालय, दुई सेक्टर मुख्यालय तथा ८० भन्दा बढी ट्यांक ध्वस्त पारिएको छ। यद्यपि, यी दाबीहरूको स्वतन्त्र पुष्टि हुन नसकेको जनाएको छ।
समाचार एजेन्सी एएफपीका अनुसार काबुलमा मध्यरातपछि ठूला विस्फोटका आवाज सुनिएका छन्। राति करिब १:५० बजे लडाकु विमानको आवाजसँगै विस्फोट भएको र बिहान २:३० बजेसम्म गोली चलेको आवाज सुनिएको बताइएको छ।
पाकिस्तान र अफगानिस्तानबीच पछिल्ला महिनाहरूमा सीमा तनाव बढ्दै गएको छ। दुवै देश अक्टोबर २०२५ मा युद्धविराममा सहमत भए पनि झडप पूर्ण रूपमा रोकिएको छैन। गत साता गरिएको हवाई आक्रमणमा महिला र बालबालिकासहित १८ जनाको मृत्यु भएको तालिबानको दाबी छ।
दुवै देशले एक–अर्कामाथि पहिले आक्रमण गरेको आरोप लगाउँदै आएका छन्। तालिबानका सैन्य प्रवक्ता वहिदुल्लाह मोहम्मदीका अनुसार जवाफी कारबाही स्थानीय समयअनुसार राति ८ बजेबाट सुरु गरिएको थियो। प्रवक्ता मुजाहिदले जवाफी कारबाहीमा पाकिस्तानी सैनिक मारिएको र केही पक्राउ परेको दाबी गरे पनि पाकिस्तानले उक्त दाबी अस्वीकार गरेको छ।
पूर्व अफगान राष्ट्रपति हामिद कारजाईले हालैका आक्रमणको निन्दा गर्दै अफगान नागरिकलाई एकताबद्ध भएर देशको रक्षा गर्न आह्वान गरेका छन्।
पाकिस्तानले लामो समयदेखि अफगानिस्तानस्थित प्रतिबन्धित संगठन टीटीपी विरुद्ध कडा कारबाहीको माग गर्दै आएको छ। पछिल्लो घटनाक्रमसँगै दुई देशबीचको सम्बन्ध थप तनावपूर्ण बनेको छ र सैन्य गतिविधि जारी रहेको जनाइएको छ।






