धनुषाका ८८ उम्मेदवारले मात्रै खोले बैंक खाता



जनकपुरधाम, फागुन १६ । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत धनुषा जिल्लाका १५४ जना उम्मेदवारमध्ये हालसम्म ८८ उम्मेदवारले मात्र बैंक खाता खोलेका छन्। यो जानकारी मधेस प्रदेश निर्वाचन कार्यालय, जनकपुरधामले दिएको हो। जिल्लाका चार निर्वाचन क्षेत्रमा कुल १५४ जनाले उम्मेदवारी दिएका छन्।

कार्यालय प्रमुख रोमबहादुर महतका अनुसार निर्वाचन आयोग को निर्देशनअनुसार प्रत्येक उम्मेदवारले अनिवार्य रूपमा बैंक खाता खोली निर्वाचनसम्बन्धी आम्दानी तथा खर्चको विवरण राख्नुपर्ने व्यवस्था छ। आयोगले तोकेको सीमा भित्र रही खर्च गर्नुपर्ने प्रावधान रहेको उनले बताए।



यसैबीच जिल्ला आचारसंहिता अनुगमन अधिकृत कृष्ण गैरेका अनुसार निर्वाचन आचारसंहिता विपरीत विभिन्न स्थानमा राखिएका करिब १ लाख ५० हजार प्रचार सामग्री नियन्त्रणमा लिइएको छ। उनले आचारसंहिताको पूर्ण पालना गर्न सबै राजनीतिक दल, उम्मेदवार तथा सरोकारवालालाई आग्रह गर्दै उल्लंघन गर्नेलाई कानुनबमोजिम कारबाही गरिने चेतावनी दिए।

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन निष्पक्ष, धाँधलीरहित र शान्तिपूर्ण बनाउन सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए। उनले शान्ति सुरक्षाको पर्याप्त व्यवस्था मिलाइएको उल्लेख गर्दै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएको बताए।

जिल्लामा ६४५ मतदान केन्द्र तथा ३२२ मतदानस्थल तोकिएका छन्। तीमध्ये १९४ मतदानस्थललाई अतिसंवेदनशीलको सूचीमा राखिएको छ। निर्वाचनका लागि ३ हजार ८७५ कर्मचारी परिचालन गरिएको छ भने ४ हजार ५०० म्यादी प्रहरी छनोट भइसकेका छन्।

प्रमुख जिल्ला अधिकारी लुइँटेलले सामाजिक सञ्जालमार्फत चरित्रहत्या गर्ने कार्य नगर्न चेतावनी दिँदै प्रमाणसहित फेला परेमा कडा कारबाही गरिने स्पष्ट पारे।

प्रकाशित मिति: २०८२ फाल्गुन १६, शनिबार १४:४७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको