एजेन्सी, फागुन १६ । अमेरिका र इजरायलले इरानमाथि संयुक्त सैन्य आक्रमण गरेका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार राजधानी तेहरानको केन्द्रीय क्षेत्रमा शक्तिशाली विस्फोटको आवाज सुनिएको छ। प्रारम्भिक जानकारीअनुसार पहिलो आक्रमण इरानका सर्वोच्च नेता अतउल्ला खामनेईको कार्यालय नजिकै गरिएको बताइएको छ।
तेहरानस्थित मेहराबाद विमानस्थल आसपास पनि विस्फोटको आवाज सुनिएको जनाइएको छ। इजरायलले इरानका करिब ३० वटा स्थानलाई निशाना बनाएको दाबी गरेको छ। आक्रमणमा राष्ट्रपति भवन, विभिन्न मन्त्रालयका भवन तथा इरानको गुप्तचर निकायको कार्यालयलाई लक्षित गरिएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले उल्लेख गरेका छन्।
इजरायलका रक्षा मन्त्रीले यसलाई “प्रिवेन्टिभ मिसाइल स्ट्राइक” अर्थात् पूर्वसावधानीस्वरूप गरिएको आक्रमण भएको बताएका छन्। इजराइल डिफेन्स फोर्स (आइडीएफ)ले सामाजिक सञ्जालमार्फत देशभर सायरन बजाइएको र नागरिकलाई सुरक्षित स्थान नजिकै बस्न आग्रह गरिएको जनाएको छ।
इजरायलले सम्भावित जवाफी आक्रमणलाई ध्यानमा राख्दै आफ्नो हवाई क्षेत्र बन्द गरेको छ। विद्यालयहरू अर्को सूचना नभएसम्म बन्द गरिएको छ भने देशभर आपतकालीन अवस्था घोषणा गरिएको छ।
इजरायली आक्रमणपछि इरानले पनि आफ्नो हवाई क्षेत्र बन्द गरेको छ। तेहरानसहित विभिन्न स्थानमा त्रासको अवस्था रहेको अन्तर्राष्ट्रिय स्रोतहरूले जनाएका छन्।
अमेरिका–इजरायल र इरानबीच बढ्दो तनावले मध्यपूर्व क्षेत्रमा सुरक्षा चिन्ता थप चुलिएको छ। पछिल्लो अवस्थाबारे थप विवरण आउन बाँकी छ।






