खामेनीको हत्यापछि इरानमा नयाँ संक्रमणकालीन नेतृत्व



एजेन्सी, फागुन १७ । सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको हत्यापछि इरानले संक्रमणकालीन व्यवस्थापनका लागि अस्थायी नेतृत्व परिषद गठन गरेको छ। इरानी सरकारी समाचार एजेन्सी इस्लामिक रिपब्लिक न्यूज एजेन्सी (इरना) ले आइतबार यो जानकारी पुष्टि गरेको हो।

इरानको संविधानको धारा १११ अनुसार सर्वोच्च नेताको मृत्यु वा असमर्थतामा गठन हुने यो तीन सदस्यीय परिषदमा वर्तमान राष्ट्रपति मसूद पेजेश्कियान, न्यायपालिकाका प्रमुख र गार्डियन काउन्सिलबाट चयन गरिएको एक वरिष्ठ धर्मगुरु समावेश छन्। दिवंगत खामेनीका निकट सहयोगीका अनुसार परिषदले नयाँ सर्वोच्च नेता चयन नभएसम्म राज्य सञ्चालनको जिम्मेवारी बहन गर्नेछ।

यसअघि असेंबली अफ एक्सपर्ट्स (विशेषज्ञ सभा) ले नयाँ सर्वोच्च नेता चयन गर्न परामर्श प्रक्रिया छिट्टै सुरु गर्ने अपेक्षा गरिएको छ। यो कदम इजरायल र अमेरिकाको संयुक्त हवाई आक्रमणपछि इरानमा उत्पन्न राजनीतिक र सुरक्षा संकटबीच आएको हो।

न्यूयोर्क टाइम्सको रिपोर्टअनुसार, खामेनीले बढ्दो खतरा र सम्भावित हत्या वा हटाइने अवस्थालाई ध्यानमा राख्दै जनवरीमा विरोध प्रदर्शनको समयमा निकट सहयोगी अली लारिजानीलाई थप अधिकार दिएका थिए। नयाँ नेतृत्व परिषद गठनले इरानको आन्तरिक राजनीति र मध्यपूर्वको क्षेत्रीय तनावमा थप अनिश्चितता सिर्जना गरेको विश्लेषकहरू बताउँछन्।

खाडी क्षेत्रमा अमेरिकी सैन्य अड्डामा इरानको जवाफी आक्रमण जारी रहँदा सुरक्षा अवस्था अझ जटिल बन्दै गएको छ। यसबीच, लाखौं नेपाली श्रमिक कार्यरत देशहरूमा चिन्ता बढेको छ। नेपाल सरकारले इजरायल र इरानमा रहेका नेपाली नागरिकहरूलाई उच्च सतर्कता अपनाउन र असुरक्षित अवस्थामा यात्रा नगर्न एडभाइजरी जारी गरिसकेको छ।

विशेषज्ञहरूले चेतावनी दिएका छन् कि इरानको संक्रमणकालीन नेतृत्व र क्षेत्रीय तनावले मध्यपूर्वको स्थिरतालाई आगामी हप्ताहरूमा अझ चुनौतीपूर्ण बनाउने सम्भावना रहेको छ।

प्रकाशित मिति: २०८२ फाल्गुन १७, आइतवार १०:५६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको