काठमाडौं, फागुन १७ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मतदातालाई भिडियो सन्देशमार्फत अब स्पष्ट कित्ताकाट गर्ने समय आएको बताएका छन्।
भिडिओ सन्देशमा ओलीले भने, “अब तपाईंले आफू राष्ट्र जोगाउने पक्षमा हुनुहुन्छ कि राष्ट्रको भविष्य जे भए पनि भन्ने पक्षमा, स्पष्ट पार्नु पर्ने समय आएको छ। इतिहासले होइन, तपाईं आफैँले आफैँलाई कहिल्यै माफ गर्नुहुने छैन।” उनले मतदातालाई आफ्नो निर्णयप्रति नैतिक साहस राख्न आग्रह गरे।
पूर्वप्रधानमन्त्री ओलीले भने, प्रतिनिधिसभा विघटनको घटनालाई स्मरण गर्दै, “एउटा निर्वाचित सरकारलाई अपदस्थ गर्न विध्वंस मच्चाइएको थियो। आज तपाईंले ठण्डा दिमागले एउटा प्रश्नको जवाफ दिनुपर्नेछ – यो देश हामीले बचाउने कि नबचाउने?”
भ्रम र प्रश्नहरूको स्वीकार गर्दै ओलीले थपे, “तर तपाईंलाई यो पनि थाहा छ – मैले यस देशको अखण्डता, स्वाभिमान र राष्ट्रियताको सवालमा कहिल्यै सम्झौता गरेको छैन र गर्दिनँ।” उनले आफ्नो योगदान स्वदेश र जनता संरक्षणतर्फ केन्द्रित रहेको बताएका छन्।
ओलीले मतदातालाई ‘देश पहिले’ भन्ने भावना अपनाउन आग्रह गरे। उनका अनुसार, “देश पहिले भनेको संविधान, नियम, भूमि, जनता र सार्वजनिक सम्पत्ति पहिले हो। सिंहदरबार, अदालत, संसद, सडक र सरकारी कार्यालय तपाईंको कर र भरोसाले बनेका हुन्। यी सबै जल्दा तपाईंको सपना पनि जल्छ।”
उनले राष्ट्रिय स्वाधीनता र स्वाभिमानलाई आत्मबलको स्रोतको रूपमा जोड्दै भने, “आज हामीलाई आफ्नो स्वाभिमान नझुक्ने ग्यारेन्टी चाहिएको छ। त्यसको लागि देश पहिले भन्ने भावना आवश्यक छ।”
ओलीको यस सन्देशले मतदातामा निर्णय क्षमता, राष्ट्रिय स्वाभिमान र राजनीतिक चेतना जगाउने उद्देश्य राखेको विश्लेषकहरूले बताउँछन्।






