देश घृणा र उत्तेजनाको भाषाले सम्हाल्न सकिँदैन : गगन थापा



काठमाडौं, फागुन १७ । नेपाली कांग्रेसका सभापति गगन थापाले देशलाई घृणा र उत्तेजनाको भाषाले सम्हाल्न नसकिने बताएका छन्। आइतबार कीर्तिपुरमा आयोजित नेपाली कांग्रेसको चुनावी सभालाई सम्बोधन गर्दै उनले मुलुक सञ्चालनका लागि शान्त, संयमित र सबैलाई मिलाएर अघि बढ्ने नेतृत्व आवश्यक रहेको बताएका हुन्।

थापाले भने, “देश सम्हाल्न घृणा र उत्तेजनाको भाषा बोल्नेले सक्दैन। मुलुक चलाउन एक्लै सम्भव छैन, टिम चाहिन्छ।” उनले सामाजिक सञ्जालमा भाइरल हुने नाममा कोलाहल मच्चाउने प्रवृत्तिले राजनीतिक संस्कार कमजोर बनाउने टिप्पणी गरे। “घृणा र उत्तेजनाले होइन, सहकार्य र समझदारीले मात्रै देश अगाडि बढ्छ,” उनले जोड दिए।

निर्वाचन प्रचारप्रसारका क्रममा आफ्ना नेता–कार्यकर्तालाई संयमित भाषा प्रयोग गर्न आग्रह गर्दै थापाले एजेन्डा, सिद्धान्त र योजनामा केन्द्रित हुन निर्देशन दिए। “घोचपेच र उत्तेजनाको भाषा प्रयोग नगर्नुस्। हामीले सार्वजनिक गरेको प्रतिज्ञापत्रलाई मतदातासामु स्पष्ट रूपमा प्रस्तुत गर्नुस्,” उनले भने।

उनले प्रधानमन्त्रीका सम्भावित उम्मेदवारहरूबीच नीति र कार्यक्रमका विषयमा सार्थक बहस हुनुपर्ने अपेक्षा राखे पनि त्यस्तो वातावरण बन्न नसकेको उल्लेख गरे। उनका अनुसार चुनाव केवल आरोप–प्रत्यारोपको प्रतिस्पर्धा नभई देशको भविष्य तय गर्ने अवसर हो।

थापाले लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउन राजनीतिक दलहरूबीच सभ्य संवाद र स्वस्थ प्रतिस्पर्धा आवश्यक रहेको बताए। “हामीले मतदातालाई आशा र भरोसा दिनुपर्छ, डर र विभाजन होइन,” उनले भने।

उनको भनाइले वर्तमान राजनीतिक माहोलमा शालीनता र सहकार्यको आवश्यकता औँल्याएको विश्लेषकहरूको टिप्पणी छ।

प्रकाशित मिति: २०८२ फाल्गुन १७, आईतवार १६:२५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको