काठमाडौँ, फागुन १८ । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा मतदातालाई सचेत र सशक्त बनाउने उद्देश्यले सञ्चालन गरिएको देशव्यापी मतदाता शिक्षा कार्यक्रम सम्पन्न भएको छ। निर्वाचनको महत्व, मतदान प्रक्रिया र बदर मत घटाउने लक्ष्यसहित निर्वाचन आयोग नेपाल ले देशभर कार्यक्रम सञ्चालन गरेको थियो।
आयोगका अनुसार देशका ६ हजार ७४३ वटै वडामा एकैपटक मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको थियो। फागुन ३ गतेदेखि सुरु भएको उक्त कार्यक्रम ७५३ स्थानीय तहका सबै वडामा आइतबार सम्पन्न भएको हो। प्रत्येक वडामा मतदाता शिक्षा स्वयम्सेवक परिचालन गरी घरदैलोमै पुगेर मतदातालाई जानकारी प्रदान गरिएको जनाइएको छ।
निर्वाचन आयुक्त डा। जानकीकुमारी तुलाधरले स्वयम्सेवकहरूको सक्रियताका कारण कार्यक्रम प्रभावकारी रूपमा सम्पन्न भएको बताउनुभयो। उहाँले विशेषगरी महिला स्वास्थ्य स्वयम्सेविकाहरूले समुदायमा पुगेर नमूना मतपत्रमार्फत मतदान प्रक्रियाबारे प्रस्ट पारेको उल्लेख गर्दै उनीहरूको योगदानको प्रशंसा गर्नुभयो।
२०७९ सालको आम निर्वाचनदेखि मतदाता शिक्षा प्रदान गर्ने जिम्मेवारी महिला स्वास्थ्य स्वयम्सेविकालाई दिँदै आएको आयोगले यसपटक पनि सोही अभ्यासलाई निरन्तरता दिएको हो। आममतदाताको बस्ती तथा घरदैलोमै पुगेर निर्वाचनको महत्व र सही तरिकाले मतदान गर्ने विधिबारे जानकारी गराइएको थियो।
कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि आयोगले यसअघि तोकेका स्थानीय सम्पर्क व्यक्तिलाई अनुगमनकर्ताका रूपमा परिचालन गर्दै अभिमुखीकरणसमेत गरेको जनाएको छ। मतदाता शिक्षा सम्पन्न भइसकेपछि स्वयम्सेवकहरूले सम्बन्धित निकायमा प्रतिवेदन बुझाउने प्रक्रिया अघि बढाइएको छ।
आयोगले मतदाता शिक्षा कार्यक्रमले बदर मत न्यूनीकरण र मतदाताको सहभागिता वृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ।






