मिथिला मध्यमा परिक्रमाका श्रद्धालुहरु जनकपुर फर्किए, भोलि अन्तर्गृहसँगै सम्पन्न हुने



जनकपुरधाम, फागुन १८ । धार्मिक आस्था र परम्पराको प्रतीक मानिने मिथिला मध्यमा परिक्रमाका सहभागी श्रद्धालुहरु आज पुनः जनकपुरधाम फर्किएका छन्। करिब पन्ध्र दिनसम्म भारत–नेपालका विभिन्न धार्मिक स्थलको परिक्रमा गर्दै आएका साधुसन्त, महन्त तथा हजारौँ भक्तजनहरू जनकपुर आइपुगेका हुन्।

परम्पराअनुसार मिथिला क्षेत्रका विभिन्न पवित्र स्थलहरूको भ्रमणपछि श्रद्धालुहरू अन्तिम चरणका लागि जनकपुरधाममा भेला हुने गर्दछन्। यस वर्षको परिक्रमामा नेपाल र भारतका विभिन्न स्थानबाट ठूलो संख्यामा श्रद्धालुहरूको सहभागिता रहेको छ । परिक्रमाका क्रममा सुरक्षा व्यवस्थालाई कडा पारिएको थियो भने स्थानीय तह र प्रशासनले आवश्यक सहजीकरण गरेको थियो।

श्रद्धालुहरू आज विश्राम गरी भोलि बिहानैदेखि अन्तर्गृह परिक्रमा गर्ने कार्यक्रम रहेको छ। अन्तर्गृह परिक्रमा सम्पन्न भएसँगै यस वर्षको मिथिला मध्यमा परिक्रमा विधिवत रूपमा समापन हुनेछ। अन्तगृह परिक्रमाको क्रममा परिक्रमा सडकका साथै प्रमुख मन्दिरहरुमा भीड हुने अनुमान गरिएको छ। ।
जनकपुरधाम फर्किएका परिक्रमा यात्रीहरु आज जनकपुरधामको ऐतिहासिक बाह्रविघा रंगभूमि मैदान, तिरहुतियागाछी लगायत विभिन्न स्थानमा बास बस्ने छन्। रात्री विश्राम पछि भोलि अन्तरगृह परिक्रम गरेर पर्सि मात्रै जनकपुरधाममा होली मनाइने छ।

अन्तरगृह परिक्रमालाई पञ्चाकोशी प्ररिक्रमा पनि भन्ने गरिन्छ।

मिथिलाको महाकुम्भ मानिने १५ दिने मध्यमा परिक्रमा जनकपुरधामको हनुमान नगर, बिहारको कलना स्थित कल्यानेश्वर, भारतकै फुलहर स्थित गिरिजा स्थान, महोत्तरीको मठिहानी, जलेश्वर, मडै, धुव्रकुण्ड, कञ्चनवन, धनुषाको पर्वता, धनुषाधाम, सतोखर, औरही, भारत बिहारको करुणा, विसौल र जनकपुरधामसहित १ सय ३३ किलो मिटर भू–भागको पद यात्रा गरिन्छ।

परिक्रमाका कारण जनकपुरधामको धार्मिक, सांस्कृतिक तथा आर्थिक गतिविधिमा उल्लेखनीय चहलपहल देखिएको छ।

मिथिला मध्यमा परिक्रमा सदियौँदेखि निरन्तर रूपमा सञ्चालन हुँदै आएको धार्मिक परम्परा हो। यसले नेपाल–भारतबीचको सांस्कृतिक सम्बन्धलाई समेत सुदृढ बनाउँदै आएको विश्वास गरिन्छ। भोलिको अन्तर्गृह परिक्रमासँगै सम्पूर्ण धार्मिक अनुष्ठान सम्पन्न भएपछि श्रद्धालुहरू आ–आफ्नो गन्तव्यतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ।

प्रकाशित मिति: २०८२ फाल्गुन १८, सोमबार ०७:५१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको