जनकपुरधाम, फागुन १८ । जनता समाजवादी पार्टी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले होली पर्व रङ्ग, प्रेम र एकताको अमुल्य मिश्रण रहेको बताएका छन ।
होलीको अवसरमा शुभकामना दिदै अध्यक्ष यादवले सम्पूर्ण देशवासीको सुख, शान्ति, समृद्धि र उत्तम स्वास्थ्यको कामना गर्दै शुभकामना व्यक्त गरेका हुन ।
उनले होली केवल रङ खेल्ने पर्व मात्र नभई यो आपसी प्रेम, सद्भाव, भाइचारा र सामाजिक एकताको सन्देश दिने समृद्ध सांस्कृतिक परम्परा रहेको बताए ।
नेपाल अनेक भाषा, धर्म, संस्कृति र परम्पराले सजिएको सुन्दर फूलबारी भएको भन्दै अध्यक्ष यादवले यही विविधतालाई शक्ति र पहिचानको रूपमा लिन आव्हान समेत गरेका छन ।
अध्यक्ष यादवले सामाजिक सद्भाव, राष्ट्रिय एकता र अखण्डताको रक्षा गर्दै समावेशी, न्यायपूर्ण र समृद्ध नेपाल निर्माणको यात्रामा सबै नेपाली एकजुट भएर अघि बढ्नुपर्ने समेत जोड दिएका छन ।
यस अवसरमा देशका विभिन्न ठाउँमा रङ खेल्ने, मौलिक परिकार खाने र सांस्कृतिक कार्यक्रम सञ्चालन हुने क्रम जारी छ। सामाजिक सद्भाव र आपसी सम्मानको सन्देश फैलाउने यो पर्वले सबैको मनमा खुशी र उत्साह भर्ने विश्वास गरिएको छ।






