काठमाडौँ, फागुन १८ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत चुनाव प्रचारप्रसारको आज अन्तिम दिन रहेको छ। राजनीतिक दल तथा उम्मेदवारहरूले आज मध्यरातसम्म मात्रै मत माग्न पाउनेछन्। त्यसपछि मध्यरात १२ बजेदेखि मौन अवधि सुरु हुने भएको छ।
निर्वाचन आयोगका अनुसार सोमबार राति १२ बजेदेखि मौन अवधि लागू हुनेछ। आयोगले मतदान हुनुभन्दा अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म मौन अवधि कडाइका साथ पालना गर्नुपर्ने जनाएको छ।
मौन अवधिमा निर्वाचन प्रचारप्रसार तथा त्यससँग सम्बन्धित कुनै पनि गतिविधि पूर्ण रूपमा निषेध गरिएको छ। आयोगले प्रचारसँग सम्बन्धित छलफल, अन्तर्क्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी लगायतका कार्यक्रम सञ्चालन गर्न नपाइने स्पष्ट पारेको छ। त्यस्तै सामाजिक सञ्जालमार्फत मत माग्ने, प्रचार सामग्री वितरण गर्ने, जुलुस निकाल्ने वा मतदातालाई प्रभाव पार्ने कुनै पनि गतिविधि गर्न नहुने उल्लेख गरिएको छ।
आयोगले मौन अवधिमा आचारसंहिता उल्लङ्घन गर्ने व्यक्ति वा दलमाथि प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी दिएको छ। शान्त, निष्पक्ष र स्वच्छ वातावरणमा मतदान सम्पन्न गराउने उद्देश्यले मौन अवधि व्यवस्था गरिएको आयोगको भनाइ छ।
निर्वाचन नजिकिँदै जाँदा देशभर सुरक्षा व्यवस्था कडा पारिएको छ। प्रशासन र सुरक्षाकर्मीहरूलाई मतदान केन्द्रको व्यवस्थापन तथा अनुगमनमा खटाइएको छ। मतदातालाई निर्धक्क र स्वतन्त्र रूपमा मतदान गर्न आयोगले आग्रह गरेको छ।






