एजेन्सी, फागुन १९ । साउदी अरबको रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण भएको छ। साउदी अरबको रक्षा मन्त्रालयले दूतावासको भवनमा दुईवटा ड्रोनबाट आक्रमण गरिएको पुष्टि गरेको छ।
अमेरिकी दूतावासले सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’ मार्फत जारी गरेको विज्ञप्तिमा आक्रमणका कारण सामान्य आगलागी भएको र भवनमा थोरै क्षति पुगेको जानकारी दिएको छ। समाचार एजेन्सी रोयटर्सका अनुसार, आक्रमणपछि ठूलो विस्फोटको आवाज सुनिएको र आकाशमा कालो धुवाँ उठेको थियो।
दूतावासको भवन पहिले नै खाली गराइएको थियो, जसले मानवीय क्षति कम गर्न सहयोग पुगेको छ। दूतावासले रियाद, जेद्दा र धहरानमा बसोबास गर्नेहरूलाई आफ्नै घरमै सुरक्षित बस्न आग्रह गरेको छ।
यो घटनापछि साउदी अरब, इजरायल र अमेरिकाबीचको तनाव थप बढेको छ। शनिबार इजरायल र अमेरिकाले इरानमाथि आक्रमण गरेका थिए, जसमा इरानका सर्वोच्च धार्मिक नेता अलि खामेनी मारिएका थिए। त्यसपछि इरानले खाडी मुलुकहरूमा रहेका अमेरिकी सेनाको स्थलहरू र इजरायलमा आक्रमण जारी राखेको छ।
यसअघि सोमबार कुवेतस्थित अमेरिकी दूतावासमा पनि धुवाँ उठेको देखिएको थियो। युएईको एक विमानस्थलमा इरानको आक्रमणमा सुरक्षा गार्डको रूपमा कार्यरत गोरखाका दिवस श्रेष्ठको मृत्यु भएको थियो।
हाल पनि मध्यपूर्वमा खतराको साइरन बजिरहेको र आकाशमा ड्रोन देखिन थालेको भन्दै नेपाली नागरिकहरू त्रसित बनेका छन्। सुरक्षा निकायहरूले सर्वसाधारणलाई सतर्क रहन र अनावश्यक रूपमा सार्वजनिक स्थानमा नजाने सल्लाह दिएका छन्।






