अन्तगृहसँगै मिथिला मध्यमा परिक्रमा सम्पन्न, मिथिला क्षेत्रमा भोलि होली मनाइने



जनकपुरधाम, फागुन १९ । जनकपुरधामको अन्तगृहसँगै १५ दिवसीय मिथिला मध्यमा परिक्रमा विधिवत रूपमा सम्पन्न भएको छ। लाखौँ श्रद्धालुहरूको सहभागितामा सम्पन्न यस धार्मिक यात्राको अन्तिम दिन जनकपुरधामको पञ्चकोशी अर्थात् अन्तगृह परिक्रमा गरिँदै समापन गरिएको हो।

धनुषाको ठेरा कचुरीबाट मिथिला बिहारीको डोलासँग सुरु भएको परिक्रमा विभिन्न धार्मिक स्थलहरू हुँदै सोमबार जनकपुरधाम आइपुगेको थियो। १४ दिनसम्म मिथिलाका विभिन्न पवित्र स्थलहरूको पदयात्रा पूरा गरेका श्रद्धालुहरूले अन्तिम दिन करिब १० किलोमिटर क्षेत्रफलभित्र पर्ने अन्तगृह परिक्रमा गरेका हुन्।

मध्यमा परिक्रमामा सहभागी हुन नसकेका श्रद्धालुहरू पनि अन्तिम दिन जनकपुरधाम आइपुगी अन्तगृह परिक्रमामा सहभागी भएका थिए। धार्मिक आस्थाअनुसार अन्तगृह परिक्रमा गरेमा १५ दिवसीय परिक्रमाकै पुण्यफल प्राप्त हुने विश्वास रहिआएको छ। परिक्रमा सम्पन्न गरेपछि श्रद्धालुहरूले जानकी मन्दिर र राम मन्दिरमा दर्शन–पूजा गरेका थिए।

प्रत्येक वर्ष फागु पूर्णिमाको अवसरमा लाखौँ श्रद्धालु जनकपुरधाम पुगेर परिक्रमा गर्ने परम्परा छ। पूर्णिमा तिथिमा मिथिला बिहारी तथा किशोरीजी भगवानको डोलासहित जनकपुरधाम फर्केपछि मध्यमा परिक्रमा छुटेकाहरू अन्तगृहमा सहभागी हुने चलन छ।

मिथिला परम्पराअनुसार अन्तगृह परिक्रमाको भोलिपल्ट मात्रै जनकपुरधाम तथा आसपासका क्षेत्रमा होली पर्व मनाइने गरिन्छ।

मधेशका केही जिल्लामा आजै होली मनाइए पनि जनकपुरधाम तथा त्यस वरिपरिको क्षेत्रमा भने भोलि धूमधामका साथ होली पर्व मनाइने तयारी गरिएको छ। बजार क्षेत्रमा रंग, अबिर, पिचकारी तथा मिठाइ पसलहरूमा चहलपहल बढेको छ भने प्रशासनले पर्वलाई शान्तिपूर्ण र मर्यादित रूपमा मनाउन आग्रह गरेको छ।

धार्मिक आस्था, सांस्कृतिक एकता र सामाजिक सद्भावको प्रतीक मानिने परिक्रमा र होली पर्वले मिथिला क्षेत्रमा विशेष उत्साह थपेको छ।

प्रकाशित मिति: २०८२ फाल्गुन १९, मंगलवार ०८:१७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको