जनकपुरधाम, फागुन १९ । धनुषा जिल्लाको विभिन्न स्थानमा श्रृंखलावद्ध विस्फोट हुँदा चार जना घाइते भएका छन्। पछिल्लो घटना मिथिला नगरपालिका–१० लालगढ र बर्दिवासबीच पर्ने रातो पुल (महोत्तरी साइड) क्षेत्रमा भएको हो।
प्राप्त विवरणअनुसार पुलमा रातो टेपले बेरिएको दुई वटा शंकास्पद वस्तु फेला परेको थियो। तीमध्ये एक वस्तु छुँदा पड्किएर कैलालीको घोडाघोडी नगरपालिका–१० निवासी सन्देश चौधरी र समीर चौधरी सामान्य घाइते भएका छन्। दुवैलाई उपचारका लागि बर्दिवासतर्फ लगिएको छ।
घटनास्थलमा अर्को एक शंकास्पद वस्तु अझै रहेको जनाइएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाले सुरक्षाकर्मीले क्षेत्रलाई नियन्त्रणमा लिई सर्वसाधारणको आवत–जावतमा रोक लगाएको जनाएको छ। बम डिस्पोजल टोली घटनास्थलमा पुगेर शंकास्पद वस्तु सुरक्षित रूपमा निष्क्रिय पार्ने प्रक्रिया अघि बढाएको प्रहरीले जानकारी दिएको छ।
यसअघि मिथिला नगरपालिका–९ बडहरी पुल क्षेत्रमा पनि शंकास्पद वस्तु पड्किँदा दुई बालबालिका घाइते भएका थिए।
लगातार भइरहेका यस्ता घटनापछि पूर्व–पश्चिम लोकमार्ग आसपासका क्षेत्रमा केही समय त्रासको वातावरण बनेको छ। प्रहरीले सर्वसाधारणलाई शंकास्पद वस्तु नछुन र तत्काल नजिकको प्रहरी कार्यालयमा खबर गर्न आग्रह गरेको छ।






